राजनीति

गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई निःशुल्क शिक्षा दिलाउने महानगरको घोषणा

Banner

काठमाडौँ ,असार २६-

काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी र सन्तानलाई निःशुल्क शिक्षा दिने घोषणा गरेको छ। महानगरपालिकाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै यस्तो प्रतिबद्धता जनाएको हो। महानगरपालिकाका प्रवक्ता नबिन मानन्धरद्वारा हस्ताक्षरित विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय नेपालीको उपचारका क्रममा भएको दुखद निधनले महानगर स्तब्ध भएको उल्लेख गरिएको छ।

महानगरले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै यो संवेदनशील घडीमा सबैलाई संयमित रहन र धैर्य धारण गर्न अपिल समेत गरेको छ। विज्ञप्तिमा दिवंगत नेपालीका परिवारलाई महानगरको तर्फबाट मानवीय सहयोग लगायतका सुविधा उपलब्ध गराउन कार्यपालिका बैठकबाट विधिसम्मत रूपमा ठोस निर्णय गरिने उल्लेख छ। यस घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको भन्दै महानगरले उक्त समितिलाई तथ्यगत छानबिनमा पूर्ण रूपमा सहयोग गर्ने स्पष्ट पारेको छ। छानबिनबाट प्राप्त हुने सुझाव र निष्कर्षका आधारमा महानगरले आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदमहरू चाल्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

महानगरपालिकाले नेपाल सरकारसँगको समन्वयमा यस्ता दुखद घटनाहरू भविष्यमा दोहोरिन नदिन र असल अभ्यासहरूको विकास गरी कार्यान्वयनमा लैजान आफू सधैँ तयार रहेको जनाएको छ। महानगरले घटनाप्रति गहिरो चासो देखाउँदै समाधानका उपायहरू पहिचान गर्न सहकार्य गर्ने समेत बताएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>