चितवन विशेष
भरतपुर अस्पतालको सिटी स्क्यान मेसिन बुधबारदेखि संचालनमा

चितवन, जेठ २१–
भरतपुर अस्पतालमा सिटीस्क्यान सेवा पूर्णरुपमा संचालनमा आएको छ ।
केही महिनादेखि मेसिनमा समस्या आएपछि सीटी स्क्यान सेवा अवरुद्ध भएको थियो । मर्मत संभार पश्चात आज (बुधबार)देखि १२८ स्लाइसको सिटीस्क्यान मेसिन पूर्ण रुपमा संचालनमा आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले जानकारी दिए ।
गएको मंसिर महिनाबाट बिग्रिएको मेसिन लामो समयसम्म नबन्दा बिरामीले निजी अस्पताल र ल्याबमा महँगो शुल्कमा सिटी गराउन बाध्य भएका थिए । बीमा गराएका बिरामी दुई मेडिकल कलेज र मनकामना अस्पताल जाने गरेका थिए भने बीमा सुविधा नलिएका तर सिटी स्क्यान गराउनुपर्नेहरू अन्य निजी अस्पतालमा रिफर हुने गरेका थिए ।
भरतपुर अस्पतालमा सिटी स्क्यान गरेको रकम तीन हजारदेखि ९ हजारसम्म तिर्नुपर्छ, अन्य निजीमा ४ हजारदेखि १३ हजारसम्म तिर्नुपर्छ । भरतपुर अस्पतालमा दैनिक औसत १५ जनाले सिटी गराउँदै आएका थिए ।
२०७४ जेठमा ६ करोड ४७ लाख रकम खर्चिर खरिद गरेको सिटी मेसिन वारेन्टी समय सकिएको पाँच महिना पनि नपुग्दै बिग्रिएको थियो। अस्पतालले १२८ स्लाइसको फिलिप्स कम्पनीको अत्याधुनिक सिटी मेसिन खरिद गरेको थियो ।
























