अन्तर्राष्ट्रिय
चीनले बनाइरहेको कोरोना बिरुद्धको खोप यहि वर्ष तयार हुने

एजेन्सी,जेठ १८-
चीनले बनाइरहेको कोरोना भाइरसविरुद्धको एक खोप यो वर्षको अन्त्यसम्ममा तयार हुन सक्ने चीन सरकारले बताएको छ ।
कोरोना भाइरसविरुद्धको खोप निर्माणका लागि विश्वभरका वैज्ञानिकहरु लागि परेका छन् । खोपलाई कोरोना भाइरसविरुद्धको एक मात्र प्रभावकारी विकल्पका रुपमा लिइएको छ ।
गएको वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वभर ६० लाख ५७ हजार मानिस संक्रमित भएका छन् । त्यसमध्ये तीन लाख ६९ हजार भन्दा बढीको मृत्यु भएको छ ।
चीनका सरकारको सम्बन्ध पाएका दुई कम्पनी मिलेर बनाइरहेको एक खोप सन् २०२० को अन्त्यसम्ममा तयार हुन सक्ने बताइएको हो । बढीमा सन् २०२१ को सुरुमा सो खोप प्रयोगमा आउन सक्ने जनाइएको छ ।
चीन सरकारको स्वामित्व रहेको एसेट्स सुपरभिजन एण्ड एड्मिनिस्ट्रेसन कमिसनले शुक्रबार सामाजिक सञ्जालमार्फत खोप बारे जानकारी दिएको हो ।



























