देश/प्रदेश
झापाको रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको आग्रह

काठमाडौं, असार २६-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीय बासिन्दा, विशेषगरी विद्यार्थी, जोखिमपूर्ण रूपमा खोला तरेर विद्यालय जान बाध्य भएको बताएकी छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले झापा–२ अन्तर्गत कजुवे–रातेखाल क्षेत्रमा हालै आएको बाढीले समस्या थप जटिल बनाएको उल्लेख गरिन् । तीन वर्षअघि नै बजेट विनियोजन भए पनि पुल निर्माण हुन नसकेको र स्थानीयले २० लाख रुपैयाँ संकलन गरेर निर्माणको प्रयास गर्दा पनि मापदण्ड नपुगेको भन्दै काम अघि बढ्न नसकेको उनको भनाइ थियो ।
उनले भनिन्, ‘ मेरो झापा क्षेत्र नम्बर २ मा चाहिँ कजुवे, रातेखालमा अस्ति मात्रै बाढी आइराछ । त्यहाँ पहिला बजेट परेको, तीन वर्ष अगाडि बजेट परेको त्यो नबनेर अहिले फेरि स्थानीयहरुले २० लाख उठाएर त्यहाँ बनाउने कोसिस गर्दा पनि त्यसमा चाहिँ मापदण्ड नपुगेर त्यो पुल त्यत्तिकै थियो। र त्यसमा चाहिँ धेरै वटा बच्चाहरु त्यो क्रस गरेर स्कुल जाँदा मृत्यु भएको छ। अस्ति पनि म भिजिट गर्ने बित्तिकै त्यहाँ एकजना १० वर्षको बालक साइकलसँगै नदीमा खसेर हामीले रेस्क्यु गर्यौँ, त्यही दिन नै म जानुभन्दा अलिकति अगाडि। म पूर्वाधार मन्त्री ज्यूलाई, मन्त्रालयलाई चाहिँ ध्यानाकर्षण गराउन चाहन्छु त्यो चाहिँ पुल बनाउनु पर्यो ।’
राना मगरले पुल नहुँदा खोला तरेर विद्यालय जाने क्रममा धेरै बालबालिकाले ज्यान गुमाइसकेको दाबी गरिन् । आफू स्थलगत अवलोकनमा पुगेकै दिन १० वर्षीय एक बालक साइकलसहित नदीमा खसेको र स्थानीयको सहयोगमा उद्धार गरिएको घटना पनि उनले सदनमा सुनाइन् ।
उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउँदै जेनतेन गरेर भए पनि उक्त क्षेत्रमा तत्काल पुल निर्माण गर्न आग्रह गरिन् ।
त्यसैगरी, उनले गणेश नेपालीको मृत्युप्रति दुःख व्यक्त गर्दै भविष्यमा कुनै पनि नेपाली नागरिक आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य नहुने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।



























