चितवन विशेष

रुकुम हत्याकाण्डः चितवनसहित देशभर दलित पत्रकार सङ्घद्वारा प्रदर्शन

Banner

चितवन, जेठ १६–

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले चितवनसहित आज (शुक्रबार) देशभर प्रदर्शन गरेको छ । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा पाँच जना मारिएको घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई न्याय तथा क्षतिपूर्तिको माग गर्दै आज देशभर एकसाथ प्रदर्शन गरेको हो ।

चितवन शाखाले आज जिल्ला प्रशासन कार्यालयमा दीप प्रज्वलन गरी मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । केही समय धर्ना समेत दिएको छ ।

यस्तै घटनाको विरोधस्वरुप दलित समुदायका पाँच युवा पत्रकारले आज काठमाडौँको माइतीघर मण्डलामा शरीरमा सेतो कपडाले बेरेर मैनबत्ती बालेका थिए । शनिबार रुकुमपश्चिम चौरजहारी–८ सोती निवासी मल्ल थरकी एक युवतीसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर युवतीको घरमा जाँदै गर्दा स्थानीयले कुटपिट गरी हत्या गरेको पीडित परिवारको भनाइ छ ।

मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो । नवराजसँगै युवतीको घरमा गएका अन्य चार जनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा एक जना बेपत्ता छन् । प्रदर्शनमा नेपाल पत्रकार महासङ्घका महासविच रमेश विष्टले जातीय भेदभाव तथा छुवाछूतविरुद्धको रुकुम घटनाको राजनीतिकरण नगरी निष्पक्ष छानबिन र कारवाहीको माग गर्दै दलितमाथिको उत्पीडन र भेदभाव तत्काल अन्त्य गर्न सरकारले शून्य सहनशीलता अपनाएर कानून कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा, साझा पार्टीका नेता प्रकाशचन्द परियार, पत्रकार ऋषि धमला र सङ्घका उपाध्यक्ष गोपाल बराइलीलगायतले दोषिमाथि कडा कारवाहीको माग गर्नुभयो । निष्पक्षरूपमा छानबिन गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न माग गर्दै संसद् र सडकमा विभन्नि राजनीतिक दलका नेता, अधिकारकर्मी, दलित नागरिक समाज, सरोकारवाला सङ्घसंस्थाले समेत आवाज उठाउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>