चितवन विशेष
चैते धानमा रोग लागेपछि पूर्वीचितवनका किसान चिन्तित

चितवन, जेठ ९–
पूर्वी चितवनका विभिन्न क्षेत्रमा लगाएको चैते धानमा रोग लागेसँगै किसानहरु मारमा परेका छन् । बाला लाग्ने समयमा धानमा रोग लागेपछि किसानहरुको चिन्ता थपिएको छ । चितवनका भण्डारा, कुमरोज, पिप्ले र कठार क्षेत्रमा लगाएको धान काट्ने समयमा धानको बोटमा दानामा लाग्ने डरुवा र नेक ब्लाष्ट नामको रोग देखिएको हो ।
सो क्षेत्रमा लगाएको ६० प्रतिशत धानहरुमा रोग देखापरेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई चितवनले जानकारी दिएको छ । “अहिले पूर्वीमा ३ हजार हेक्टरमा लगाईएको “हर्दिनाथ एक” नामको धानमा दानामा लाग्ने डरुवा रोग लागेको छ” कार्यालयका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले भने, “तत्कालै सचेत नहुने हो भने समस्या अझ बढी देखिन सक्छ ।” पूर्वीचितवनमा ५ हजार क्षेत्रफलमा चैते धान लगाईएको छ । विशेष गरी हर्दिनाथ १ र विजि १४४२ जातमा बालामा दाना डढुवा रोग र नेक ब्लाष्ट रोग देखा परेको उनले बताए ।

यस्तै पि.आर र जेरि जातमा पनि शिथ ब्लाइट रोग देखा परेको छ । हर्दिनाथ १ भन्दा जेरी १ महिना अगाडि पाक्ने तर उत्पादन कम हुने गरेको किसानहरुले बताएका छन् । त्यसले गर्दा किसानहरुले पछिल्लो समय हर्दिनाथ १ जातको धान रोप्दै आएका छन् । अहिले गुणस्तरीय बिऊ, प्राङगारिक मल, रासायनिक मल, अन्य उत्पादन सामग्रीहरू, सहजै दक्ष प्राविधिक सेवाको पहुँच नहुँदा समस्या आएको खैरहनीका किसान कृष्णप्रसाद धरेलले जानकारी दिए ।
‘केही ठाऊमा कालो टाटा देखिएको छ’ धरेलले भने, ‘यसका लागि हामीलाई प्राविधिकहरुको खाँचो छ ।’ कृषि प्राविधिकले २० प्रतिशत मात्र धान निस्कने बताएको उनले सुनाए । लकडाउनका कारण फिल्डमा निस्कन समस्या परेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई चितवनका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए । ‘अहिले कोरोनाको जोखिम उच्च छ । त्यसमा पनि जथाभावी बाहिर निस्कन पाईदैन । किसानको खेतमा पुग्नका लागि सवारी साधन समेत हामीसंग छैन ।’ उनले भने, ‘सकेसम्म हामी किसानको खेतमा पुग्ने गरेका छौँ । आज विहान पनि अनुगमनमा निस्केका थियौँ ।” चितवनमा ८ हजार हेक्टरमा चैते धान लगाईको छ ।
























