चितवन विशेष

चितवनमा क्यान्सरका बिरामीसँग एक जना मात्रै कुरुवा रहन पाउने

०
Banner

चितवन, जेठ ६–

जिल्ला प्रशासन कार्यालय चितवनले ७६ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी क्यान्सरका बिरामी पठाउँदा कुरुवा एक जना मात्र पठाउने व्यवस्था गरिदिन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले हस्ताक्षर गरी पठाइएको पत्रमा बिरामीको साथमा एक जना मात्र कुरुवा पठाउन आवश्यक सहजीकरण र नियमन गरी सहयोग गरिदिन अनुरोध गरिएको छ ।

अस्पतालमा बिरामी एम्बुलेन्समा आउने गर्दछन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देशैभरिबाट बिरामी उपचारका लागि आउने गर्दछन् । एक जना बिरामीसँग पाँचर६ जनासम्म एम्बुलेन्समा खाँदिएर आउने गरेपछि प्रशासनले सबै जिल्लामा पत्राचार गरी सहजीकरण गरिदिन अनुरोध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले जिल्ला छिर्ने सिमानामा एक जनाभन्दा बढी कुरुवा आएमा प्रवेशमा कडाइ गरिने बताउनुभयो । आएको कुरुवा अलपत्र पर्ने भएकाले अग्रिम जानकारी गराइएको उहाँले बताउनुभयो । क्यान्सर अस्पताल नजिकका होटलहरु यतिबेला बन्द रहेका छन् । कुरुवा घर खाली छैन । बिरामी र कुरुवाले बाहिरै खाना पकाएर खान बाध्य भएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले विभिन्न जिल्लाबाट दैनिक ५० वटा हाराहारी एम्बुलेन्स बिरामी लिएर आउने गरेको बताउनुभयो ।

अस्पतालमा दैनिक झण्डै २०० बिरामी उपचारका लागि आउने गरेको उहाँको भनाइ छ । अस्पतालले कोरोना सङ्क्रमण भित्रन नदिन सकेसम्म उच्च सावधानी अपनाएको गौतमको भनाइ छ । विसं २०५७ मा १०० श्ययाबाट अस्पताल सञ्चालनमा आएको हो । अहिले अस्पताल ४५० श्यया पुगेको छ । चीन सरकारले एशियाकै नमूना अस्पतालको रुपमा निर्माण गरिदिएको यस अस्पतालले वार्षिक १० हजार हाराहारी क्यान्सरका बिरामीको उपचार गर्दै आएको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>