Breaking News
थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित मध्ये एक जनाको मृत्यु, संक्रमितको संख्या २८१

काठमाडौं, जेठ ३–
नेपालमा आज (शनिबार) साँझ थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये एक जनाको मृत्यु भएको छ भने दुई जना स्वास्थ्यकर्मीको निगरानीमा छन् ।
नयाँ संक्रमित मध्ये धनुषा निवासी २० र ६५ वर्षीय पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यस्तै धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
ती महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल, महराजगञ्जमा भर्ना भएकी थिइन् । उनको २४ गते डेलिभरी भएको र २५ गते डिस्र्चा भएको मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ । त्यसपछि सिन्धुपाल्चोक घर गएकी थिइन् । उनलाई ज्वरो, स्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पताल उपचार गराईएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनको धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँद गर्दा मृत्यु भएको थियो ।
विज्ञप्तीमा भनिएको छ–‘यस सम्बन्धमा थप विस्तृत विवरण लिइएको र कोभिड–१९ संग सम्बन्धित थप परीक्षण पश्चात नेपालमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ ।’
























