देश/प्रदेश
‘सीमा विवादको समस्या कूटनीतिक र राजनीतिक पहलमार्फत समाधान गर्नुपर्छ’: सांसद रावल

काठमाडौं, वैशाख २८–
राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा (पार्वती)ले सीमा विवादका समस्या कूटनीति तथा राजनीतिक पहलमार्फत समस्या समाधान गर्न माग गरेकी छन् ।
आइतबारको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद रावलले लिपुलेक–कालापानीलगायतका क्षेत्रमा देखिएका सीमा विवाद तत्काल कूटनीति तथा राजनीतिक पहलमार्फत समस्या समाधान गर्न माग गरेकी हुन् । संसदमा रावलले भनिन्–‘लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत दर्जनौं स्थानमा नेपाल–भारतबीच देखिएको सीमा विवाद तत्काल कूटनीतिक तथा राजनीतिक पहल अघि बढाएर सदाका लागि हल गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’
विश्व समुदाय नै महामारीको चपेटामा परेको बेला छिमेकी मुलुक भारतबाट भूमिमाथि आक्रमण गरी सडक बनाउँदा सारा नेपाली स्तब्ध बनाएको बताइन् । यस्तै सांसद रावलले कोरोनासंग संघर्षरत नेपाली तथा विश्वभरका संक्रमितहरूलाई शिघ्र स्वास्थ्यलाभको कामना समेत गरिन् ।
राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति समेत रहेकी रावलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा भएको छलफलमा आफ्नो धारणा राख्दै वर्तमान विषम परिस्थितिको वस्तुनिष्ठ विश्लेषण गरेर तत्कालिन, मध्यकालिन र दीर्घकालिन सोचसहित संविधान, कानून र जनताको अपेक्षाअनुसार नीति तथा कार्यक्रम र सोअनुसार बजेटको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।
























