Breaking News

भरतपुर कोरोना अस्पतालको संचालन खर्च ७४ लाख, कोटेशन बिनै सामग्री खरिद

०
Banner

चितवन, वैशाख १६–

भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताल सञ्चालन गर्नका लागि अहिलेसम्म ७४ लाख भन्दा बढी खर्च भएको छ । कर्मचारीको तलब, इन्धन, कार्यालय सञ्चालन, सवारी साधन मर्मत, सञ्चार महशुल, औषधि, खरिद, भवनको संरचनात्मक सुधारका लागि ७४ लाख ४४ हजार रुपैयाँ खर्च भएको हो ।

कोरोना अस्पतालका अनुसार सबैभन्दा बढी खर्च औषधि तथा मेसिनरी औजार खरिद गर्दा भएको छ । यसका लागि अहिलेसम्म ५२ लाख २८ हजार २ सय १० रुपैयाँ खर्च भएको भरतपुर महानगरपालिकाले जानकारी दिएको छ । यो खर्च बजेटको सिलिङ भन्दा बढी हो । यस शीर्षक अन्तरगत ४५ लाखसम्म खर्च गर्न भनिएको थियो ।

कार्यालय सञ्चालन खर्च मात्रै करिब १२ लाख

भरतपुर कोरोना अस्पतालको कार्यालय सञ्चालन खर्च करिब १२ लाख रुपैयाँ भएको छ । करिब एक महिनाको अवधिमा कर्मचारी तलब, इन्धन खर्च, सवारी मर्मत, सञ्चार महशुल, औषधि खरिदका खर्च बाहेक अस्पतालको कार्यालय सञ्चालन खर्चमात्रै ११ लाख ८६ हजार ८ सय २३ रुपैयाँ खर्च भएको हो । कार्यालय सञ्चालन खर्च शिर्षक छुट्टाईए पनि कुन प्रयोजनमा खर्च भयो भनेर स्पष्ट पारिएको छैन । तर भरतपुर महानगरले भने अस्पताल संचालन खर्च सवा करोड भएको दावी गरेको थियो ।

सवारी साधन मर्मत र इन्धनमा एक लाख खर्च

कोरोना अस्पतालमा सवारी साधान र इन्धन खर्च एक लाख बराबरको भएको छ । सवारी साधान मर्मत र इन्धन प्रयोजनका लागि ९९ हजार ९ सय रुपैयाँ खर्च हुँदा कर्मचारीको तलबतर्फ १ लाख ५३ हजार ६ सय १२ मात्र खर्च भएको देखिन्छ ।

कार्यालय सञ्चालनतर्फ ११ लाख ८६ हजार ८ सय २३, सञ्चार महशुलतर्फ २७ हजार ६ सय रुपैयाँ खर्च भएको भरतपुर महानगरपालिकाका लेखापाल फणिन्द्र प्रसाद खनालले जानकारी दिए । यसैगरी निर्मित भवनको संरचनात्मक सुधारतर्फ १ लाख ४० हजार, फिर्निचर तर्फ २ लाख १३ हजारल ८ सय ८८ र विविध शिर्षक तर्फ ३ लाख ९५ हजार रुपैयाँ खर्च भएको खनालले बताए ।

कोटेसन बिनै सामान खरिद

कोरोना विशेष अस्पतालले आपतकालिन परिस्थिति देखाएर कोटेसन बिनै सामान खरिद गरेको छ । एकदेखि पाँच लाखसम्मका सामानहरु खरिद गर्दा कोटेसनका आधारमा सामान खरिद गर्नुपर्ने भए पनि आफ्ना व्यक्तिका कम्पनीबाट सामान खरिद गरेको छन् ।
२० लाखसम्मको औषधि खरिद गर्दा कोटेसन निकाल्न नपर्ने भरतपुर महानगरपालिकाका लेखापाल खनालले दाबी गरे । तर, ५ लाख भन्दा माथिको सामान खरिद गर्दा कोटेसनका आधारमा खरिद गर्नुपर्ने सार्वजनिक खरिद ऐनमा स्पष्ट उल्लेख गरिएको छ ।

१३ लाखसम्मको पीपीई एउटै कम्पनीबाट खरिद गरिएको छ । १६ दिनको बीचमा अस्पतालले ७ सय वटा पीपीई खरिद गरेको जनाएको छ । समृद्धि गार्मोन्ट प्रालिबाट ३ सय, मेडिलाईन इक्यूपमेन्ट सर्भिसबाट २ सय, नेशनल सर्जीकल हाउसबाट १ सय ४० वटा खरिद गरिएको छ । प्रत्येक कम्पनीबाट फरक–फरक मुल्यका पीपीई रहेका छन् । २७ लाख ९० हजार रुपैयाँको पीपीई खरिद भएको छ । त्यस्तै, दुई लाख ३० हजार ९ सय रुपैयाँको मास्क खरिद भएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालमा ४ वटा एसी पनि जडान गरिएको छ । सो एसी खरिद गर्दा कोटेसन लिईएको छैन । महानगरका लेखापाल फणिन्द्र खनालका अनुसार, ६ लाख ५२ हजार ४ सय ९६ रुपैयाँमा एसी किनिएको हो ।

मनपर्दी रुपमा मास्क र पीपीई वितरण

कोरोना अस्पतालमा आएका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि विभिन्न संघ संस्थाले ३ सय ८५ वटा पीपीई सहयोग गरेका छन् । त्यस्तै एन ९५ मास्क ५ सय ५०, र १२ हजार ३ सय वटा सर्जिक मास्क सहयोग गरेको देखिन्छ । कोरोना अस्पतालमा आएका पीपीई र एन ९५ मास्क व्यक्ति र निजी अस्पतालमा वितरण गरिएको छ ।

चितवन मेडिकल कलेज, चितवन मेडिकल साइन्सेसमा ५०/५० निजी अस्पताल (अफिन)लाई ६०वटा पीपीई दिईएको छ । त्यस्तै एन ९५ मास्क डाक्टर अनिल विक्रम कार्की र संजय बरालले ५०/५० वटा व्यक्तिगत रुपमा लगेको देखिन्छ । ती मास्क डा.कार्कीले मेयर रेनु दाहालसंगै मागेर अन्य चिकित्सकहरुलाई वितरण गरेको स्पष्ट पारेका छन् । तर, भरतपुर कोरोना अस्पतालमा काम गर्ने चिकित्सकहरु व्यवस्थापन राम्रो नहुँदा दुई जनाले राजिनामा दिएका छन् ।

चैत्र २३ गतेदेखि कोरोना अस्पताल भरतपुर अस्पतालबाट सञ्चालित छ । सो समयमा कोरोना अस्पतालले भरतपुर अस्पताललाई त्यहाँ भएका सामानहरु हस्तान्तरण गरेको थियो । १६ दिनको अवधिमा विभिन्न संघसंस्थालाई ७ सय ३५ वटा पीपीई वितरण गरेको छ । १ हजार ८५ वटा पीपीई मध्ये ३ सय ५० वटा मात्र भरतपुर अस्पतालाई हस्तान्तरण भएको देखिन्छ । निजी अस्पताल, रेडक्रस, एम्बुलेन्स चालक, सुरक्षाकर्मी, भरतपुर महानगरपालिका लगायतलाई पीपीई उपलब्ध गराईएको छ ।

कोरोना विशेष अस्थाई अस्पतालले चैत्र ७ गतेदेखि औपचारिक रुपमा सेवा प्रारम्भ गरेको हो । अस्पताल सञ्चालन गर्नकालागि वाग्मती प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गरेको छ । अहिलेसम्म सो बजेटबाट खर्च गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>