Breaking News
राजपा र समाजवादी भित्र फुटको संभावना छैन, सरकारले नै लोकतन्त्र माथि आक्रमण गर्योः नेता महतो

काठमाडौं, वैशाख ११–
राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतोले राजपा र समाजवादी भित्र फुटको कुनै संभावना नरहेको दावी गरेका छन् ।
नयाँ एकीकृत दल दर्ताका लागि निर्वाचन आयोग पुगेका नेता महतोले संचारकर्मीसंग प्रतिक्रिया दिँदै दुई पार्टी एक भइसकेको अवस्थामा फुटको कुनै संभावना नरहेको बताए । उनले भने–‘हामी फुट होइन एक भएका छौं, कोही फुटेर जाने वाला छैनन् ।’ नेता महतोले लकडाउनका कारण केही समस्या भएकाले बाँकी अन्य एकीकरणका प्रक्रियाहरु लकडाउन पछि गरिने जानकारी दिए । उनले लामो समयदेखि नै एकीकरणको लागि प्रक्रिया थालिएको भन्दै हिजो राती एकीकरण संभव भएको बताए । उनले भने–‘ समाजवादीले सरकार छोड्न ढिला गर्दा एकीकरणमा केही ढिलाई भएको थियो, अब हामी एकजुट भइसकेका छौं ।’
यस्तै नेता महतोले लोकतन्त्र दिवसकै दिन सरकारले नै लोकतन्त्र माथि आक्रमण गरेको बताएका छन् । देशलाई एक ढिक्का बनाएर अगाडि लैजानुपर्ने बेला देशमा जटिल परिस्थिति सिजर्ना गर्दै सरकारले नै लोकतन्त्र माथि आक्रमण गरेको बताए । उनले भने–‘सरकार नै लोकतन्त्र, पार्टीलाई कमजोर बनाउने, देशमा अहिष्णुता निम्त्याउने, निरकुंशता लाद्ने काम गर्नुभएको छ ।’ उनले सरकारको यस्तो निर्णय दुर्भाग्यपूर्ण रहेको बताए ।
























