समाचार

गत फागुन र चैतको बिजुलीको महसुल वैशाखमा तिरे जरिवाना नलाग्ने

Banner

काठमाडौं, वैशाख ७-

गत फागुन र चैतको विद्युत महसुल यही वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने नेपाल विद्युत प्राधिकरणले व्यवस्था गरेको छ ।

विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९)का कारण अर्थतन्त्रमासमेत गम्भीर असर परेको वर्तमान परिप्रेक्ष्यमा मन्त्रिपरिषद्को १६ चैतको बैठकले उपभोक्ताहरुलाई विद्युत् महसुल तथा विलम्बवापत लाग्ने जरिवाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो।

सोही निर्णयलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण संचालक समितिको चैत २५ गतेको बैठकले जरिवाना छुट दिने निर्णय गरेको थियो । प्राधिकरणले अनलाइनबाट तिर्न सक्नेले महसुल तिरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनिकरणमा सहयोग गरिदिन आग्रह गरेको छ।

निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा मन्त्रिपरिषद्को निर्णयअनुसार, फागुन र चैत महिनाको महसुल वैशाखभित्र तिरेमा जरिवाना छुट दिने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। उनका अनुसार लकडाउनको अवधि लम्बिएमा सोहीअनुसार समयावधि थप हुनेछ।

मन्त्री पुनका अनुसार लकडाउनको विषम परिस्थितिमा ग्राहकवर्गलाई नियमित र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण दिन-रात लागिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>