स्वास्थ्य
नेपाल नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर : एक हजारभन्दा बढी लाभान्वित

काठमाडौँ, असार २३ –
नेपाल नेत्रज्योति सङ्घले निःशुल्क आँखा शिविर मार्फत आँखा उपचार सेवालाई वाह्य देशमा पनि सञ्चालन गर्न प्राथमितामा राखेको छ । नेपालको विशेष गरेर आँखा उपचारको पहुँच नपुगेका ग्रामीण र विपन्न क्षेत्रमा सङ्घ अन्तर्गत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्र मार्फत् शिविर सञ्चालन गर्दै आएको सङ्घले वाह्य देशमा पनि मागका आधारमा शिविर सञ्चालन गर्न थालेको हो ।
नेपाली विशेषज्ञ तथा स्वास्थ्यकर्मीद्वारा वाह्य देशमा सञ्चालित यस्ता शिविर अन्त्यन्त प्रभावकारी बनेका जनाइएको छ । सङ्घले नेपाललाई दक्षिण एसियाकै अग्रणी आँखा उपचार तथा तालिम केन्द्रका रूपमा स्थापित गर्ने, गुणस्तरीय आँखा आँखा चिकित्सा शिक्षा तथा आँखा स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने र अन्धोपन न्यूनीकरण गर्नेलाई जोड दिँदै आएको छ ।
यसक्रममा नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको प्राविधिक सहकार्य तथा थाइल्याण्डस्थित नेपाली राजदूतावास ९कम्बोडिया समेत ० को समन्वयमा कम्बोडियाको कम्पोङ चाम प्रान्तमा दुईदिने निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । यही असार २० र २१ गते कम्पोङ चाम प्रान्तीय अस्पतालमा पहिलो पटक सञ्चालन गरिएको उक्त शिविरमार्फत एक हजार दुई कम्बोडियाली नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए । सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार शिविरमा सेवा लिनेमा ६४१ महिला र ३६१ पुरुष रहेका थिए । उहाँले आँखा परीक्षणका क्रममा ३७३ जनालाई निःशुल्क औषधि, ४०७ जनालाई चस्मा तथा १९२ जनालाई औषधिसहित चस्मा वितरण गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरमा ९३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ । उनीहरूलाई थप उपचारका लागि स्थानीय अस्पतालमा ‘रेफर’ गरिएको थियो । शिविरको शुभारम्भ नेपालका कम्बोडियाका लागि राजदूत धनबहादुर ओली र कम्पोङ चाम प्रान्तका गभर्नर उन चान्दाले संयुक्त रूपमा गर्नुभएको थियो ।
अनुभव आदान प्रदान गर्न सहकार्य
कार्यक्रमका क्रममा कम्बोडियाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरमा तालिम तथा व्यावसायिक अनुभव आदानप्रदानको अवसर उपलब्ध गराउने विषयमा सहमति भएको जनाइएको छ ।
शिविरमा लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर ९श्री रण अम्बिका शाह आँखा अस्पताल० की चिफ मेडिकल डाइरेक्टर प्रा डा सुशीला पटेलको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सकको टोलीले आँखा परीक्षण, उपचार तथा विशेषज्ञ परामर्श सेवा प्रदान गरेको थियो ।
यसैबीच, सङ्घका महासचिव भरतबहादुर चन्दको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले कम्बोडियाको स्वास्थ्य मन्त्रालय, कम्पोङ चाम प्रदेश सरकार तथा विभिन्न सरोकारवाला निकायसँग आँखा स्वास्थ्य सेवा, चिकित्सा शिक्षा, प्राविधिक सहयोग, क्षमता अभिवृद्धि तथा संस्थागत साझेदारी विस्तारका विषयमा छलफल गरेको थियो ।
नेपाल र कम्बोडियाबीच सार्वजनिक स्वास्थ्य, आँखा स्वास्थ्य सेवा, चिकित्सा शिक्षा, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा ज्ञान र अनुभव आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । दुवै पक्षले स्वास्थ्य क्षेत्रमा संस्थागत सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका सङ्घले जनाएको छ ।
सङ्घका महासचिव चन्दले यस प्रकारको अन्तरराष्ट्रिय सहकार्यले नेपाल र कम्बोडियाबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नेपाललाई गुणस्तरीय आँखा उपचार, चिकित्सा शिक्षा तथा आँखा स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने सङ्घको दीर्घकालीन योजनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घका उपाध्यक्ष एवं रणअम्बिका शाह आँखा अस्पतालका अध्यक्ष सागर प्रताप राणाले नेपालले आँखा स्वास्थ्य सेवाको क्षेत्रमा हासिल गरेको अनुभव तथा दक्षता अन्तरराष्ट्रियस्तरमा विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने बताउनुभयो ।
त्यसैगरी, श्री रणअम्बिका शाह आँखा अस्पतालका अस्पताल व्यवस्थापक प्रकाश रायमाझीले शिविरसम्पन्न हुनुमा नेपाली राजदूतावास, स्थानीय सरकार, कम्पोङ चाम प्रान्तीय अस्पताल, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय समुदायको सक्रिय सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
नेपालले आँखा स्वास्थ्य सेवाको क्षेत्रमा हासिल गरेको उपलब्धि, विशेषज्ञता तथा व्यवस्थापन अनुभव अन्तरराष्ट्रिय समुदायसँग साझेदारी गर्दै विश्वव्यापी रूपमा अन्धोपन न्यूनीकरणमा योगदान पु¥याउन सङ्घ प्रतिबद्ध रहेको पनि सङ्घले जनाएको छ ।
सङ्घले यस्ता अन्तरराष्ट्रिय सहकार्यका कार्यक्रममार्फत गुणस्तरीय आँखा स्वास्थ्य सेवा, चिकित्सा शिक्षा, अनुसन्धान तथा जनशक्ति विकासलाई प्रवर्द्धन गर्दै नेपाललाई दक्षिण एसियाकै अग्रणी आँखा उपचार तथा तालिम केन्द्रका रूपमा स्थापित गर्ने आफ्नो अभियानलाई निरन्तरता दिने जनाएको छ ।
सङ्घका अनुसार सङ्घले स्थापनादेखि सन् २०२५ को अन्तिमसम्ममा सङ्घको २८ आँखा अस्पताल, ४४ जिल्ला शाखा, २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल पाँच करोड दुई लाख ४८९ जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ रासस



























