Breaking News

नयाँ वर्ष २०७७ कोरोनामाथि विजयीको वर्ष बनोस् शुभकामना !

Banner

मनोज घिमिरे ।

पूर्वीय दर्शन र परम्परामा ऋतुहरुलाई ६ भागमा विभाजन गरिएको छ । पश्चिमाहरूले भने जम्मा ४ भागमा विभाजन गर्दै आएका छन् । अधिकांश संवतहरुमा १२ महिना बराबर एक वर्ष हुने गरेको छ । पूर्वीय परम्परामा चन्द्र र सूर्य दुवैमा आधारित पात्राहरू प्रचलित छन् । चैत्र महिनादेखि वसन्त ऋतुको सुरुवात भएको मानिन्छ, जुन वैशाख महिनासम्म रहन्छ । वसन्त ऋतु एक सुन्दर तथा मनमोहक ऋतु हो,जसले हृदयलाई फुरुङ्ग बनाउने गर्दछ ।

वसन्त ऋतुमा पृथ्वीमा रहेका बोटबिरुवाका पुराना पातहरू झर्छन् र नयाँ पालुवा पलाउँछन् । सबैतिर हरियाली हुन्छ । यस ऋतुमा हरेक जीव, चराचुरुङ्गी तथा मनुष्य प्रकृतिसंग गजबले रमाउँछन् । यो ऋतुमा बासनादार फूल फुल्छन भने नाङगिएका रुखले फेरि नयाँ पात पाउँछन् । त्यसैले यसलाई सबै ऋतुभरिकै उत्तम मानिन्छ । वसन्त ऋतुलाई ऋतुराज पनि भनिन्छ । हरेक वसन्त ऋतुसंगै विक्रम संवतका हिसाबले नयाँ बर्ष सुरु हुन्छ ।

अहिले हामी वि.सं. २०७६ लाई बिदाइ गर्दै २०७७ लाई स्वागत गर्ने तरखरमा छौं । हरेक नयाँ बर्ष हामी हर्ष र खुशीका साथ मनाउने गर्छाैं । नयाँ बर्षले हरेक मानिसको जीवनमा नवीन आयाम ल्यावस भनेर एक अर्कामा शुभेच्छा प्रकट गर्दछौं । तर यस पटक भने ईस्वी संवत् र विक्रम संवतका नयाँ बर्षहरू क्रमशः सन् २०२० र विसं २०७७ मानव सभ्यताका लागि थप दुःखद रहने देखिएको छ । ईस्वी संवत् २०२० को पूर्वसन्ध्यामा पहिलो पटक देखिएको कोरोना भाइरसले विक्रम संवत् २०७७ को पूर्वसन्ध्यासम्ममा विश्वका १ लाख बढी मानिसहरूको ज्यान लिइसकेको छ । १७ लाख बढी मानिस उक्त भाइरसबाट संक्रमित छन् । विश्वको नक्सामा देखिने हरेक देशहरूमा यो भाइरस फैलिसकेको छ । मानव समुदायको भविष्य रहला नरहला भन्ने चिन्ताले हायलकायल बनाएको छ । सन् १९३९ देखि १९४५ सम्म चलेको दोश्रो विश्व युद्धपछिको सबै भन्दा ठूलो वज्रपात कोरोना भाइरसको महामारी भएको भनेर विश्लेषकहरूले ब्याख्या गरिरहेका छन् ।

हरेक विकसित देशका वैज्ञानिकहरू भाइरस विरुद्धको खोप खोज्न लागिपरेका छन् । आजको दिनसम्म उपलब्धि भने शून्य नै छ । संक्रमितको उपचारमा रातदिन लागेका सयौं स्वास्थ्यकर्मीहरूले ज्यान गुमाइसकेका छन् । मृतकका लासका खादले पहाड बनेको अवस्थामा बिश्व समुदाय भाव बिह्वल छ । बिश्वले हाल यस रोगको संक्रमणबाट जोगिन सक्ने उपाएको रूपमा लक डाउनलाई प्रमुख अस्त्रको रुपमा प्रयोग गरिरहेको छ । कोरोना भाइरसको यस संकटबाट हामी नेपाली पनि गुज्रिरहेका छौं ।

आज बर्ष २०७६ को अन्तिम दिनमा आइपुग्दा सम्म नेपालमा पनि १२ जनामा संक्रमण भेटिइसकेको छ । नेपाल संक्रमणको दोश्रो चरणमा प्रवेश गरिसकेको छ । तेश्रो चरण हुँदै कुनै दिन महामारीको चरणमा पुग्ने त होइन भन्ने विषयमा सम्पूर्ण नेपाली त्रसित छन् । सरकारले पनि संक्रमणलाई रोक्न आफ्नोतर्फबाट सक्दो प्रयास गरेको छ । पुरै देश ठप्प छ । वसन्त ऋतुको प्राकृतिक सुन्दरताको मनोरम दृश्यमा रम्दै खुशी तथा शुभेच्छा साटासाट गर्नुपर्ने समयमा हामी मुस्कुराउन सकेका छैनौं । नयाँ बर्ष पनि लकडाउन भएको छ । वर्ष परिवर्तन त हुन्छ नै तर यो परिवर्तनको रौनक हामीमा छैन ।

लकडाउनका कारण गरिबीको रेखामुनि रहेका लाखौं नेपाली भोकभोकै रहन पर्ने अवस्था सम्म हुनसक्छ । नयाँ बर्षमा मीठो मसिनो खाएर खुशी साटासाट गर्न नसके पनि मजदुर तथा गरीव नेपालीहरूका लागि नागरिक समुदाय तथा सरकारले खाने कुराको प्रबन्ध गर्न जरुरी छ । अधिकांश नेपालीहरू हालको विषम परिस्थितिमा पनि घर जान पाएका छैनन् । समाजलाई भाइरसबाट जोगाउन आफन्तबाट पनि टाढा रहनुपरेको छ ।

अब एकैछिन कोरोनाको त्रासलाई घरभित्रै छाडेर बिर्सने प्रयास गरौं । हाम्रा हरेक चाडपर्वमा हामी एक आपसमा शुभकामना व्यक्त त गर्छाैं । तर हामीले अरूलाई र अरूले हामीलाई व्यक्त गर्ने ती फरक फरक शुभकामनाले हाम्रो असल प्रयास बिना नै काम गरिहाल्छ त ? त्यसो हुँदो हो त पक्कै पनि यस संसारमा विशिष्ट र सकारात्मक आचरणका मानिसहरू मात्र हुने थिए होलान् । आफू र आफ्नाले दिएका कामनाका शब्दले त्यति बेला मात्र साकर रूप लिन सक्लान् जतिबेला आफू स्वयम् पनि प्राप्तिका लागि लाग्ने छौं । हामी भित्र रहेका धेरै असल गुण र सम्पूर्ण खराब गुण पनि सम्झौं । हरेक असल भनिने व्यक्तिमा पनि कुनै न कुनै कमजोर पक्ष हुन्छन् । त्यसरी नै खराव व्यक्ति भनिने मानिसमा पनि केही न केही असल गुणहरू हुन्छन नै । असल व्यक्तिले आफ्नो कमजोरी पक्षलाई स्वीकार्ने अनि खराव भनिएकाहरूले आफूसँग रहेका केही असल गुणहरूबाट निर्माण गर्न सकिने दिव्य वाणले आफ्ना बाँकी सबै खराब भनिएका गुणहरूलाई प्रहार गरी परास्त गर्न सकियो भने असल भनिएकाहरू त असल हुने नै भए, खराव भनिएका मानिसहरू पनि ऋषि बन्न सक्दछन् ।

नयाँ बर्ष २०७७ को आगमन सँगै कोरोना भाइरसमाथि विजयी प्राप्त गर्न सकौं । रोगलाई निको पार्ने खोपको चाँडै पत्ता लागोस् । सम्पूर्ण नेपाली जनको घरघरमा चुलो बलोस् । वसन्त ऋतुको हरियाली जस्तै सुन्दर रहोस् तपाईको जीवन । लकडाउनको पूर्ण पालना गर्दै प्रबिधिको माध्यमबाट आफ्ना सम्पूर्ण साथीभाई तथा आफन्तसँग नयाँ बर्षको शुभकामना साटासाट गरौं । घरैमै बसौं । नयाँ बर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>