चितवन विशेष
भरतपुरको कोरोना अस्पताललाई रोयल फर्मासिटिकलको औषधि सहयोग

चितवन,चैत १६-
भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताललाई रोयल फर्मासिटिकलले औषधि सहयोग गरेको छ । भरतपुर १६ मा रहको फर्मासिटिकलले ३६ हजार सिटाफाष्ट ट्याबलेट र १६ हजार रोल्सेट ट्याब्लेट सहयोग गरेको हो ।
रोयल फर्मासिटिकलका अध्यक्ष प्रेम थापा र प्रबन्ध निर्देशक केशव प्रसाद लामिछानेले सो औषधि अस्पताललाई हस्तान्तरण गर्नुभयो । प्रबन्ध निर्देशक लामिछानेले बजारमा अभाव रहेको औषधि कोरोना अस्पताललाई सहयोग गरेको बताउनुभयो । उहाँले विश्वव्यापी रुपमा कोरोनाको महामारी फैलिएका अवस्थामा कम्पनीले सामाजिक दायित्व अन्तर्गत सहयोग गरेको जानकारी दिनुभयो ।

सो अवसरमा कोरोना प्रकोपविरुद्ध जिल्ला व्यवस्थापन समितिका संयोजक तथा सांसद विजय सुवेदी,भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल,बरिष्ठ चिकित्सक भोजराज अधिकारी,चितवनका प्रहरी प्रमुख नान्तिराज गुरुङ लगाएतको उपस्थिति रहेको थियो । कोरोना अस्पताललाई थप व्यवस्थित बनाउँदै र जिल्लामा कोरोना संक्रमण भित्रन नदिन कडाइका साथ काम भइरहेको संयोजक सुवेदीले बताउनुभयो ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले निरन्तर कोरोना विरुद्धको अभियानमा लागेको बताउनुभयो । कोरोना अस्पताललाई विभिन्न क्षेत्रबाट आवश्यक सामाग्री सहयोग गर्ने क्रम बढेको छ ।






















