समाज
लकडाउनको मौकामा धमाधम सडकको काम गर्दै सरकार

काठमाडौं,चैत १६-
सडक विभागले लकडाउनको मौका पारेर रोड मार्किङ गर्न बाँकी स्थानहरुमा काम थालेको छ । सडकमा आवागमन कम भएकाले विभागले रातमा गर्दै आएको काम दिउँसो नै गर्न सुरु गरेको हो । काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली यस्तो कामका लागि धेरै संख्यामा मजदुर नलाग्ने भएकाले कोभिड १९ विरुद्ध उनीहरुलाई सचेत बनाएर सावधानीसहित काम भइरहेको बताउँछन् ।
‘एक ठाउँमा ४,५ कामदार भए काम हुन्छ, जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएरै मार्किङ थालेका हौं,’ उनले भने,’कामदारहरुबीच सामाजिक दूरी कायम राखेर काम हुँदैछ ।’ उनले राती गर्नुभन्दा दिउँसो गर्दा यस्तो मार्किङ प्रभावकारी हुने देखिएको बताए । अनुगमन पनि गर्न पाइने र कामदारले ढुक्कसँग काम गर्न सक्न भएकाले लकडाउनलाई मौकाका रुपमा सदुपयोग गरिएको नेपालीको भनाइ छ ।
सडक विभागले लकडाउन अघिसम्म काठमाडौंका विभिन्न सकडमाहरु कालोपत्रे गरेको थियो । आवधिक मर्मतलाई प्राथमिकतामा राखेको विभागले यस वर्ष काठमाडौंका सडकलाई विगतका वर्षमा भन्दा स्तरीय बनाएको छ । सडकको मार्किङलाई पनि प्रभावकारी बनाइएको छ । अनलाइनखबरबाट



























