चितवन विशेष
कृषिमा लगानी विस्तार गर्दै सेन्ट्रल ग्रुप, सुन कागती रोपेर कृषि फर्मको शुभारम्भ

नवलपुर, असार १९-
कृषि क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यसहित सेन्ट्रल ग्रुपले नवलपुरको गैँडाकोट नगरपालिका–३, ढोडेनीमा सेन्ट्रल कृषि तथा पशुपन्छी फर्म सञ्चालनमा ल्याएको छ। फर्मको शुभारम्भसँगै सुन कागतीका बिरुवा रोपेर व्यावसायिक कृषि अभियानको औपचारिक सुरुवात गरिएको हो।
सेन्ट्रल ग्रुपका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलले कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले फर्म स्थापना गरिएको जानकारी दिए। उनले कृषि क्षेत्रमा निजी क्षेत्रको लगानी बढेमा देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनका अनुसार फर्मलाई भविष्यमा एग्रो टुरिजम, कृषि अध्ययन तथा अनुसन्धानका लागि रिसर्च सेन्टरको रूपमा समेत विकास गरिनेछ। यसबाट विद्यार्थी, कृषि विज्ञ, अनुसन्धानकर्ता तथा कृषिमा रुचि राख्ने सर्वसाधारणले प्रत्यक्ष रूपमा आधुनिक कृषि प्रणालीको अध्ययन, अवलोकन र अनुसन्धान गर्ने अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ।
शिक्षा र सीप विकासका क्षेत्रमा सक्रिय सेन्ट्रल ग्रुपले हाल उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई स्वदेश तथा विदेशमा सेवा प्रदान गरिरहेको छ । यसै वर्षदेखि ग्रुपले सीटीईभीटी अन्तर्गतका विभिन्न सीपमूलक तयारी कक्षासमेत सञ्चालनमा ल्याएको छ । जसबाट युवाहरूलाई व्यावसायिक सीप हासिल गरी स्वदेशमै स्वरोजगार बन्न तथा विदेशमा समेत प्रतिस्पर्धी जनशक्ति बन्न सहयोग पुग्ने विश्वास लिइएको छ।



























