चितवन विशेष
कोरोना बिरुद्ध सचेतना फैलाउन भरतपुर ११ का वडाध्यक्ष टोलटोलमा

चितवन,चैत १५-
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड १९) लाई नेपाल भित्र फैलन नदिन सरकारले लकडाउनको आब्हान गरेको आज (शनिवार) पाँचौ दिन । केन्द्रिय सरकारसंगै प्रदेश र स्थानिय सरकारले पनि आ-आफ्नो क्षेत्रबाट कोरोना फैलन नदिन अभियान चलाइरहेका छन् । स्थानिय तह मार्फत वडावडा र टोलटोलमा सचेतना अभियान संचालन भइरहेका छन् । भरतपुर महानगरपालिकाको सबैभन्दा धेरै जनसंङख्या भएको भरतपुर ११ ले पनि आफ्नो वडामा कोरोनाको संक्रमण फैलन नदिन विभिन्न गतिविधि संचालन गरिरहेको छ ।

वडाध्यक्ष बाबुराम अधिकारी आफै टोलटोलमा पुगेर नागरिकलाई कोरोनाबारे जानकारी गराउँदै घरबाट बाहिर ननिस्कन आब्हान गरेका छन् । उनले विदेशबाट वडामा आएकाहरुको तथ्याङक संकलन गरेर उनिहरुलाई होम क्वारेन्टाइनमा बस्न कडाइका साथ निर्देशन दिएको बताए । ‘विदेशबाट आएकाहरुको हामीले नियमित निगरानी गरिरहेका छौं,अध्यक्ष अधिकारीले भने,अपरिचित व्याक्तिलाई प्रवेशमा रोक लगाइएको छ ।’ स्थानिय प्रहरी प्रशासन र विपत व्यवस्थापन समिति मार्फत पनि कोरोनाको संक्रमण रोक्ने विषयमा छलफल र अभियान संचालन गरिरहेको उनले बताए ।

यस्तै वडाध्यक्ष अधिकारीले वडामा लकडाउनको समयमा कोही गरिब विपन्न र दैनिक ज्यालादारी काम गर्ने मजदुर खान नपाएर भोकै हुने अवस्था सृजना नहुने प्रतिबद्धता जनाए । उनले गरिव विपन्नको तथ्याङक संकलन गरिएको भन्दै त्यस्ता नागरिकलाई वडा मार्फत राहात प्रदान गरिने जानकारी दिए ।























