समाचार
विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बस्ने ४१० पुगे

दमौली, चैत १५-
विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या तनहँुमा ४१० पुगेको छ । दुई साताको अवधिमा विभिन्न देशबाट फर्किएर होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ४१० पुगेको हो ।
जिल्लाका १० वटै स्थानीय तहबाट प्राप्त भएको विवरणअनुसार ती व्यक्तिहरु होम क्वारेन्टाइनमा बसेको नोभल कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उहाँका अनुसार जिल्लाका १० वटै स्थानीय तहले विदेशबाट फर्किने व्यक्तिहरुको विवरण सङ्कलन गरिरहेको छ ।
भानु नगरपालिकामा १३, व्यास नगरपालिकामा ४५, शुक्लागण्डकी नगरपालिकामा १०७, भीमाद नगरपालिकामा १०१, म्याग्दे गाउँपालिकामा २५, ऋषिङ गाउँपालिकामा ७५, देवघाट गाउँपालिकामा २०, घिरिङ गाउँपालिकामा दुई, बन्दीपुर गाउँपालिकामा ११ र आँबुखैरेनी गाउँपालिकामा १२ जना होम क्वारेन्टाइनमा बसेका छन् । “शुक्रबार साँझसम्म प्राप्त विवरणअनुसार यी व्यक्तिहरु जनप्रतिनिधिको निगरानीमा घरमै बसिरहेका छन्,” उनले भने, “थप व्यक्तिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।”
घिरिङ गाउँपालिकाले भने शुक्रबारबाट मात्रै विदेशबाट फर्किनेको तथ्याङ्क सङ्कलन शुरु गरेको छ । विदेशबाट फर्किएका व्यक्तिहरुलाई नजिकका स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गर्न आग्रह गरिएको छ ।
जिल्लाका ३४ स्थानमा क्वारेन्टाइन बनाइएको छ तर उक्त क्वारेन्टाइनमा भने अहिलेसम्म कसैलाई पनि राखिएको छैन । त्यस्तै व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, देवघाट गाउँपालिकामा आइसोलेसन कक्ष निर्माण गरिएको छ ।
जिल्लामा भारत, दुबई, मलेशिया, माल्दिभ्स, जापान, कतार, श्रीलङ्का, अष्ट्रेलियालगायतबाट घर फर्किने धेरै रहेका छन् । रासस



























