Breaking News

भरतपुर कोरोना अस्पतालको बिजोगः बिरामीलाई सहज उपचार पाउनै मुश्किल

०
Banner

चितवन, चैत १२–

विश्वभर कोरोना भाइरस (कोभिड–१९)ले सन्त्रास फैलाइरहेका बेला चितवनको भरतपुरमा ७२ घण्टा भित्रै कोरोना विशेष (अस्थाई) बन्ने खबरले देशविदेशमा बस्ने सबै नेपाली खुशी भए । घोषित समय ७२ घण्टा भित्रै चितवन प्रदर्शनी केन्द्रमा अस्पताल स्थापना पनि गरियो । सो अवधि भित्र ५० बेडको जनरल वार्ड तयार भयो । आइसियु र एचडियु अझै पूर्णरुपमा तयार छैन । सुरुका चरणमा बाहिरबाट हेर्दा जति कोरोना अस्पतालको तारिफ भयो अब विस्तारै यस अस्पतालप्रति प्रश्न तेर्सिन थालेको छ ।

बाहिरबाट अस्पताल बने पनि भित्र अपस्ताल जस्तो छैन । जसले गर्दा स्वंम बिरामीहरुले नै प्रश्न गर्न थालेका छन् । कोरोना विशेष अस्पताल बन्यो भनेर खुशी भएर सोही अस्पताल पुगेकी एक बिरामी भित्री अवस्था देखेर चिन्तित बनेकी छिन् । छुट्टै अस्पताल बनेकाले राम्रो उपचार पाउने उनमा विश्वास थियो । तर जब भित्र प्रवेश गरिन् उनले सोँचेको भन्दा फरक पाइन् । ती बिरामीले भनिन्–‘भन्दा लाज हुन्छ, यस्तो अवस्थालाई कसरी अस्पताल भन्न सकिन्छ ।’ उनले अस्पतालमा सामान्य उपचार समेत नपाएको गुनासो गरिन् । ‘मंगलबार राति फोक्सोमा समस्या जस्तो देखियो, श्वासप्रश्वासमा गाह्रो हुँदा अक्सिजन समेत पाइँन’–ती बिरामीले टेलिफोन मार्फत गुनासो गरिन् ।

उनी पेशाले नर्स हुन् । गत अक्टोबरमा अष्ट्रेलियाबाट आएकी हुन् । आफूमा कोरोना भाइरस (कोभिड–१९) को लक्षणसंग केही मिल्ने भएकाले आफै कोरोना अस्पताल पुगेकी हुन् । चैत १० गते उनी कोरोना अस्पतालमा पुगिन् । तर उनलाई चितवन मेडिकल कलेज (सिएमसी) पठाइयो । सिएमसीमा एक्सरे, सिटी स्क्यान सबै गराइन् । फोक्सोमा सामान्य समस्या पनि देखियो । उनमा ज्वरो बढ्दै गयो भने खोकी लाग्ने, कान, नाक चिलाउने क्रम बढ्यो । पुनः चिकित्सकहरुको सल्लाहमा उनी मंगलबार (चैत ११) मा कोरोना अस्पतालको आइसोलेसनमा भर्ना भइन् । अहिले पनि उनी सोही अस्पतालमा उपचाररत छिन् तर उनलाई अस्पताल पुगेपछि हौसला मिल्नुको साटो अस्पतालको अवस्थाले पिरोलेको छ ।

यस्तै अस्पताल प्रशासनले भने आइसोलेसनमा बसेका बिरामीलाई अन्य बिरामीजस्तै गरी निगरानी गर्न नसकिने बताए । अस्पतालमा जनशक्ति व्यवस्थापनमा समेत समस्या भइरहेको स्रोतको भनाइ छ ।

कोरोना अस्पतालमा एसी र जेनेरटर नै छैन

कोरोना विशेष अस्पताल हरेक दृष्टिकोणले संवेदनशिल छ । चितवन प्रदर्शनी केन्द्रमा स्थापना गरिएकाले हल स्तरीय नै छ । तिनवटै हल पूर्ण एयरकण्डिसन (एसी)युक्त बनाउने भनिएको थियो । तर अहिले प्रदर्शनी केन्द्रमा एसी अहिलेसम्म जडान भएको छैन । एसी र जेनेरटर समेत नभएको हलमा आइसियु र एचडियु कक्ष निर्माण गरेको भनिएको छ यो आफैमा विरोधाभाष छ । आइसियु कक्ष झनै संवेदनशील छ । तर कोरोना अस्पतालमा निमाण गरिएको आइसियु उपुक्त देखिदैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>