अन्तर्राष्ट्रिय
अमेरिकामा ट्रम्पले भनेको ‘अचुक औषधि’ खाँदा एकको मृत्यु,एक गम्भिर

एजेन्सी,चैत १२-
कोरोना भाइरसविरुद्ध काम गर्ने भनिएको क्लोरोक्वीन औषधि खाएका अमेरिकाको एरिजोनाका एक व्यक्तिको मृत्यु भएको छ । सो औषधि खाएकी उनकी श्रीमती गम्भीर अवस्थामा अस्पतालमा छिन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारका लागि क्लोरोक्वीन उपयुक्त हुने भन्दै बारम्बार सार्वजनिक कार्यक्रममा बताउँदै आएका थिए र उनले सो औषधिका प्रयोगका लागि सुझाव दिएका थिए ।
सोही औषधि खाएका एरिजोनाका व्यक्तिको निधन भएको हो । क्लोरोक्वीनलाई माछा राखिने ट्यांक सफा गर्नका लागि पनि प्रयोग गरिन्छ। क्लोरोक्वीन खाएको केही समयपछि नै एरिजोनाका ती दम्पती बिरामी भएको एरिजोनाको अस्पताल प्रणाली बानर हेल्थले बताएको छ । औषधि खाएका दुवैजना ६० वर्षमाथिका हुन् ।
औषधिका कारण गम्भीर बिरामी परेकी महिलाले अमेरिकी टेलिभिजन नेटवर्क एनबिसीसँग आफूले टेलिभिजनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको ब्रिफिङ्ग हेरेको र त्यसमा ट्रम्पले कोभिड–१९ को उपचारमा क्लोरोक्वीनको सम्भावित फाइदाहरुको कुरा गरेको सुनेको बताएकी छन् ।



























