समाचार
कोरोना भाइरस : काठमाडौं बाहिर जाने हवाइ भाडा दर दोब्बरले बढ्यो

काठमाडौं, चैत ७-
कोरोना भाइरसको त्रास बढ्न थालेपछि काठमाडौंबाट बाहिरिनेको संख्या ह्वात्तै बढ्दा हवाइ भाडा पनि ह्वात्तै बढेको छ ।
सार्वजनिक सवारी साधनहरुमा सीट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई रोक लगाउने भएको छ । सर्वसाधारण नागरिकहरुलाई भिडभाड गरी यात्रा नगर्न अनुरोध पनि गरेको छ । विभिन्न परीक्षाहरु पनि स्थगित गरिएको छ ।
काठमाडौंमा त्रासको वातावरण बनेपछि कामकाजमा नरहेका, विद्यार्थी, गृहिणीहरु बाहिरिन थालेका हुन् । यसका कारण हवाइ भाडा बढेको हो । बसहरुमा पनि घुँइचो लागेको छ ।
काठमाडौं फर्किने हवाइ भाडा भने सस्तो छ । जहाज खाली जस्तै हुने भएकाले भाडा दर सस्तो भएको हो । काठमाडौंबाट जाँदा मात्र हवाइ भाडा महँगो भएको हो ।
काठमाडौंबाट बिराटनर जाने हवाइ भाडाको न्युनतम मूल्य ६१ सय पुगिसकेको छ । अधिकतम भाडा दर ७५ सय रुपैयाँ छ । अधिकतम भाडा दर ९ हजार पुगिसकेको छ ।
तुलनात्मक रुपमा पोखरा जाने भाडा दर केही कम छ । पोखराको न्युनतम भाडा दर २ हजार रुपैयाँ छ । भरतपुरका लागि भाडा दर २९ सय ५० रुपैयाँ पुगेको छ ।
भैरहवाको न्युनतम भाडा दर ४२ सय रुपैयाँ पुगेको छ । नेपालगञ्ज जाने न्युनतम भाडा दर ९ हजार ३ सय रुपैयाँ छ । धनगढीका लागि भाडा दर १२ हजार ४५० रुपैयाँ पुगेको छ । काठमाडौंबाट भद्रपुर जाने न्युनतम भाडा दर ७४ सय रुपैयाँ छ ।
अहिले दशैंमा जस्तै काठमाडौंबाट बाहिरिनेको संख्या मात्र उच्च छ । बसबाट दुई दिनमा साढे दुई लाख जना काठमाडौंबाट बाहिरिसकेका छन् ।
हवाइ इन्धनको भाउ साढे ४ रुपैयाँ कम भएपछि हवाइ भाडा दर घटाएको जनाएपनि सर्वसाधारणले उच्च दर तिर्न बाध्य हुनु परेको छ ।
सरकारको निर्देशनपछि विद्यालयहरुले ५ गतेभित्रै परिक्षा सकेपछि काठमाडौंबाट फर्किनेहरुको संख्या बढेको छ ।



























