प्रवास

कोरानाबाट पोर्चुगलमा एकको मृत्यु, संक्रमितको संख्या ४४८ पुग्यो

Banner

पुनम गौतम

लिस्वन, चैत ४–

पोर्चुगलमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक जनाको मृत्‍यु भएको छ । कोरोना संक्रमणबाट ८० वर्षीय मारिओ भेरिस्सिमुको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लिस्बनस्थित सान्ता मरिया अस्पतालमा उनको उपचारको क्रममा मृत्‍यु भएको हो । पोर्तुगलमा कोरोना भाइरस संक्रमितको संख्या बढेर मंगलबार मध्यान्नसम्म ४४८ पुगेको छ । सोमबार मात्रै थप ११७ जना संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । जसमध्ये एकजना नेपाली रहेको पोर्तुगीज सञ्चार माध्यमले जनाएका छन् । फारोमा रहेको इबी २/३ साओ आन्तोनिउ विद्यालयमा ३ महिलालगायत ७४ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको जनाएका छन् ।

कृषिमा काम गर्ने ७४ जना नेपालीलाई कोरोना संक्रमणको संभावनालाई ध्यानमा राखेर क्वारेन्टाइनमा राखिएको हो । एक नेपालीले स्वास्थ्य जाँच गराउँदा कोरोनाको संक्रमण देखिएपछि उनीसंग सम्पर्कमा आएकाहरुलाई खोज्ने क्रममा एकै क्षेत्रमा बस्ने नेपालीहरुको खोजी गरिएको थियो । स्थानीय स्वास्थ्य प्रतिनिधि र विदेशी र सीमा हेर्ने निकाय (सेफ) को खोजीमा त्यहाँ बस्ने नेपालीहरुलाई भेला गराइएको थियो ।

सबै नेपालीहरु एउटै कम्पनी मार्फत कृषिमा काम गर्दै आएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार ४ हजार ३० जनामा कोरोनाको लक्षणहरु देखिएको छ भने तिनीहरुमध्ये ३२३ को परीक्षण भईसकेको र नतिजा पर्खिरहेका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार उत्तरी पोर्तुगलमा १९६ जना, लिस्बन र तेजोमा १८० जना, मध्यपोर्तुगलमा ५१ जना, अल्गार्भमा १४ जना र आसोरेसमा एक जना संक्रमित छन् । हालसम्म ३ जना बिरामी उपचारपछि सामान्य जीवनमा फर्केका छन् । पोर्चुगलमा सोमबारदेखि अर्को सूचना जारी नभइञ्जेलका लागि स्कुल कलेजहरु समेत बन्द भएका छन् । त्यस्तै गरी नेपाली, चाईनिज तथा पोर्तुगिज रेष्टुरेण्टहरु समेत बन्द गरिएका छन् । दैनिक उपभोग्य सामानको जोहो गर्न र सचेत रहन पोर्तुगिज सरकारले सम्पूर्णमा आग्रह गर्दै अनावश्यक बाहिर नसिस्किन र भिडभाड नगर्न आग्रह गरेको छ । त्यस्तै सुपरमार्केटहरुमा एक÷एक जना गर्दै भित्र पस्ने व्यवस्था गरेको छ ।

यता एन.आर.एन.ए पोर्चुगलले नेपालीहरुको सहयोगार्थ सहयोग समन्वय (हेल्प डेक्स) स्थापना गरेको छ । पोर्चुगलमा हाल संक्रमणको जोखिमहरु बढ्दै गएकोले पोर्चुगलमा बस्ने सम्पूर्ण नेपालीलाई मध्यनजर गर्दै एन.आर.एन.एले कोरोनाको लक्षण देखा परेमा अस्पताल लैजान सहयोग गर्ने र धेरै नेपालीमा भाषाको समस्या भएकाले अस्पताल पुगेर पनि बोल्न नसक्ने नेपालीहरुलाई भाषा सम्बन्धि काउन्सिल गर्ने गरेको एन.आर.एन.ए पोर्चुगलका अध्यक्ष तिलक गैरेले जानकारी दिए ।

साथै पोर्चुगलमा रहेका कुनैपनि नेपालीलाई यो भाइरसको संक्रमण, आशंका वा कुनै संकेत, समस्या देखिएमा आवश्यक सहयोग, एम्बुलेन्स, हस्पिटल वा सम्बन्धित निकायमा खबर गर्ने, प्रारम्भिक जानकारीहरु दिने जस्ता कामहरुमा मद्दत पुर्‍याउन एनआरएनए पोर्चुगलले सहयोग समन्वय (हेल्प डेक्स) समिति गठन गरेको छ । साथै आवश्यक भएमा कार्यसमितिका पदाधिकारीहरुलाई सम्पर्क गर्न सम्पूर्ण नेपालीहरुलाई अध्यक्ष गैरेले आग्रह समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>