Uncategorized
कोरोनाबाट उत्तर कोरियामा दुई सय सैनिकको मृत्यु,१० हजार नागरिकलाई क्वारेन्टाइनमा राखियो

एजेन्सी,फागुन २७-
उत्तर कोरियामा कोरोना भाइरसबाट १ सय ८० जना सैनिकको मृत्यु भएको छ । दक्षिण कोरियाको डेली एनकेले मंगलबार सैनिक स्रोतलाई उद्धृत गर्दै कोरोना भाइरसको जस्तो लक्षण देखिने रोगका कारण जनवरी महिनामा मात्र १ सय ८० उत्तर कोरियाली सैनिकको मृत्यु भएको र फेब्रुअरीमा झन्डै ३ हजार सात सय सैनिकलाई क्वारेन्टाइनमा राखिएको जनाएको छ।
समाचारमा जनाइएअनुसार मृत्यु भएका सैनिक चीन र उत्तर कोरियाको सीमाक्षेत्रमा खटिएका थिए। सैन्य नेतृत्वले ब्यारेकहरूमा जिम्मा पाएका अस्पतालले उच्च ज्वरो, निमोनिया, टिबीका कारण मर्ने सैनिकको विवरण मागेपछि यो तथ्य सार्वजनिक भएको हो। सैनिक नेतृत्वले अहिले क्वारेन्टाइनमा रहेका सैनिकको विवरण पनि मागेको छ।
अस्पतालहरूलाई मृत्यु भएकाहरूको शव जलाउन पनि भनिएको छ। उच्च अधिकारीहरूले पहिलादेखि नै स्वास्थ्य अवस्था कमजोर भएका सैनिकहरूको विशेष ख्याल गर्न पनि निर्देशन दिएका छन्। उत्तर कोरियाले अहिलेसम्म कोरोना भाइरसको प्रभावबारे आधिकारिक विवरण सार्वजनिक गरेको छैन।
दक्षिण कोरियाको योन्हाप न्युज एजेन्सीले कोरोनाको आशंकामा १० हजार उत्तर कोरियालीलाई क्वारेन्टाइनमा राखिएको समाचार छापेको छ। तीमध्ये ४ हजार जनालाई कोरोनाको लक्षण नदेखिएपछि घर फर्कन दिइएको छ।



























