Breaking News
कोरोनाभाइरसको असर : आजदेखि यि देशका नागरिकलाई अनअराइभल भिसा बन्द

काठमाडौं, फागुन २७–
विश्वका आठ विभिन्न आठ देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिएको छ ।
कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै सरकारले आजदेखि विश्वका आठ वटा देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिदिएको हो ।
अनअराइभल भिसा प्रतिबन्द लगाइएका ८ देशका नागरिकले नेपाल आउनुपरेमा कोरोना भाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने अध्यागमनको जारी विज्ञप्तिमा उल्लेख छ ।
आफू स्वस्थ भएको प्रमाणपत्र पनि ७ दिनभित्रको मितिमा तयार भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स, र जर्मनीका नागरिकलाई अन अराइभल भिसा बन्द गरिएको जानकारी दिएको हो ।
नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिइकन आउने नागरिकलाई अन अराइभल भिसा नदिइने प्रावधान लागू गरिएको छ ।
यसैबीच बिदेशबाट नेपाल आउने नेपालीले पनि आफू कोरोना संक्रमित नभएको पुष्टि हुने कागजात पेस गरेर मात्र नेपाल आउन पाउने व्यवस्था गरिएको जानकारी छ ।
ठीकठाक अवस्थामा नेपाल आएका नेपाली र विदेशी जो कोहीले पनि अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था मिलाइएको स्रोतले जनाएको छ ।
























