समाज

कोरोना त्रास : होली पर्वमा विगतको जस्तो जम्मा भएर नखेल्न गृह मन्त्रालयको आग्रह

Banner

काठमाडौं,  फागुन २४-

कोरोना भाइरस (कोभिड–९)को सम्भावित जोखिमलाई मध्येनजर गर्दै गृह मन्त्रालयले हर्ष र उल्लासका साथ मनाइने होली (फागू)मा लोला पानी फ्याँक्ने, शरीरमा रंग (अबिर) दल्ने कार्य नगर्न र नगराउन आग्रह गरेको छ ।

शनिबार प्रेस विज्ञप्ती जारी गरी गृहले बढी भीडभाड हुने प्रकृतिको सभा, सम्मेलन, भेला र कार्यक्रमलाई पनि हाललाई स्थगित गरिएको जनाउँदै रंगको पर्व होलीमा विगतको जस्तो भीडभाड र जम्मा हुने, लोला पानी फ्याँक्ने र अबिर दल्ने कार्य नगर्न/नगराउन आग्रह गरेको हो ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९’को संक्रमणबाट नेपालसमेत उच्च जोखिममा रहेको हुनाले विश्व स्वास्थ्य संगठनले सतर्कता अपनाउन आग्रह गरिसकेको छ । अहिलेसम्म नेपालमा ‘कोभिड–१९’को संक्रमण भएका तथ्य फेला नपरेको पनि गृहले जानकारी गराएको छ ।

हल्ला र प्रचारबाजीको पछाडि नलागेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्दै आएको कोरोना भाइरसको लक्षण, सर्ने तरिका र बच्ने उपायका बारेमा सूचनाहरु आम नागरिकमा फैलाउन र सजगता अपनाउन गृहले आग्रह गरेको छ ।

यसैबीच कोभिड–१९ को बारेमा अहिले फैलिरहेको अनावश्यक भ्रममा परी उपभोग्य बस्तुको खरीद र भण्डारणमा कुनै पनि प्रकारको हतार नगर्न गृहले आग्रह गरेको छ । त्यस्तै, कहिँकतै कालोबजारी, मूल्यबृद्धि र कृतिम अभाव भए/गरेको पाइएमा तत्काल सम्बन्धित निकायमा खबर गर्नमा गृहले अपिल गरेको छ ।

त्यस्तै, ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, श्वासप्रश्वासमा समस्या आउनुलगाएत कोभिड–१९ को लक्षणहरु भएको गृहले जनाएको छ । यसैबीच सीमा नाका, अन्तर्राष्ट्रिय आवतजावत केन्द्रहरुमा प्रभावकारी स्वास्थ्य परीक्षण, रोगको निगरानी, अस्पतालको पूर्व तयारीलगाएत रोकथामका लागि गरिने सम्पूर्ण गतिविधिहरु सरकारले प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको गृहले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>