Breaking News

प्रधानमन्त्रीको आत्मबलको प्रशंसा : सफल प्रत्यारोपणको कामना !

Banner

प्रकाश सिलवाल

काठमाडौँ, फागुन २०-

“नेपाली चिकित्सा क्षेत्रमा विश्वास राख्ने बा ! हजुरलाई मिर्गौला अङ्गदान गर्ने महान् नारी समीक्षा सङ्ग्रौलाप्रति उच्च सम्मान गर्दै सफल प्रत्यारोपणको शुभकामनासहित दुवै जनाको शीघ्र स्वास्थ्यलाभको कामना…।” यु–टेक इञ्जिनीयरिङ कलेजका सागर पाठकले मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपण सफलताको कामनाका लागि देशका उच्चपदस्थदेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट शुभकामना दिइरहेका छन् ।

राजनीतिक नेतृत्वदेखि, कर्मचारी, स्वदेश र विदेशका विभिन्न पेशा व्यवसायी र लाखौँ कार्यकर्ताले मुलुकको कार्यकारी प्रमुख एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीको शरीरको संवेदनशील अङ्गको दोस्रो प्रत्यारोपण र चिकित्सकीय प्रबन्धका कारण सबैले अस्पतालमा भेटेर शुभकामना दिन सम्भव नहुने भएकाले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘केपी शर्मा ओली डटकम’ मा स्वास्थ्यलाभको कामना गर्न चाहनेले सन्देश दिन सक्ने सूचना गरेलगत्तै आज उक्त साइटमा विभिन्न क्षेत्रबाट स्वास्थ्यलाभको कामना गर्नेको उल्लेखनीय सहभागिता देखिएको छ ।

“सम्माननीय प्रधानमन्त्रीज्यूको सफल मिर्गाैला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्न चाहने स्वदेश तथा विदेशमा रहने सम्पूर्ण महानुभावले यहाँ आफ्नो सन्देश राख्न अनुरोध गर्दछौँ ।” सल्लाहकार थापाले उक्त जानकारी आफ्नो सामाजिक सञ्जालमा पनि समावेश गरेपछि साइट अवलोकनकर्ताले प्रधानमन्त्रीको आधिकारिक साइटमा आफ्ना सन्देश दिन थालेका हुन् ।

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले आफू चाँडै स्वास्थ्यलाभ गरी समृद्धिका सपना पूरा गर्ने बाँकी कार्यभार पूरा गर्ने अभियानमा सामेल हुने उल्लेख गरी भिडियो सन्देश दिएकाले पनि उनिप्रति सबै तहका नागरिकबाट विशेष आशा र अपेक्षा बढेको छ । आमरुपमा प्रधानमन्त्री ओलीलाई अदम्य आत्मबलका धनीको संज्ञासहित स्वास्थ्यलाभको कामना गरिएको छ । यसअघि २०६४ साउनमा पहिलो मिर्गाैला प्रत्यारोपण गराइएका प्रधानमन्त्री ओली त्यसयता विभिन्न समयमा फलोअप उपचार गरेर पनि सरकार र पार्टीको नेतृत्व तहमा रही राष्ट्र निर्माणको सङ्कल्पमा अविचलित भएकाले उनको स्वास्थ्यप्रति चासो बढेको पाइएको हो ।

यही बुधबार गरिने मिर्गौला प्रत्यारोपणको चिकित्सकीय तयारीका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीलाई स्वदेशकै चिकित्सक र सरकारी अस्पतालप्रति भरोसा गरेकामा पनि प्रशंसा भइरहेको छ । प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सम्भवतः छिटै सन्देश पठाउनेन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर सफल प्रत्यारोपणको कामना गर्नुभएको थियो । नेकपा सचिवालय बैठकले यसअघि नै शीघ्र लाभको कामना गरिसकेको छ, जहाँ प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्योपचारको योजनाबारे जानकारी गराउनुभएको थियो । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुले पनि विभिन्न माध्यमबाट प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधि र सामाजिक सञ्जालमार्फत् स्वास्थ्यलाभको कामना गरेका थिए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासहित राज्यका सबै तहलाई विकासनिर्माण र स्थिरतामा केन्द्रित हुन आह्वान गर्दै आउनुभएका प्रधानमन्त्री ओलीले आफ्नो उपचारका समयमा पनि नियमित र अत्यावश्यक कामका लागि प्रबन्ध गरिएको जनाएका छन् ।

नेपाल माइक्रोबस कम्पनी, सामाखुसीका राजेन्द्र महतले प्रधानमन्त्री ओलीको साइटमा लेख्नुभएको छ, “छिटो स्वस्थ्य भएर आफ्नो नियमित काममा फर्र्किएको देख्न पाइयोस् । यस देशलाई हजुरको खाँचो छ । पशुपतिनाथले कल्याण गरून् ।” पत्रकार छेटु शेर्पाले “अधुरा योजना धेरै छन् यसलाई पूरा गर्न अझै तपाईँको खाँचो छ । त्यसैले स्वस्थ्य भएर तत्काल काममा फर्कनुहुने विश्वास छ” भन्नुभएको छ भने सुरेन्द्रराज पौडेलले नेपालमै मिर्गाैला प्रत्यारोपण हुन लागेकामा खुशी व्यक्त गर्नुभएको छ ।

अनेरास्ववियुका कार्यकर्ता नवराज ढकालको सन्देश छ, “तपाईंको नेतृत्वमा नेपाल एउटा समृद्ध राष्ट्र बन्छ । त्यसैले मनले मानेको नेता मेरो देशको प्रिय प्रधानमन्त्री शीघ्र स्वास्थलाभको कामना छ ।” नेकपाका कार्यकर्ता राम न्यौपानेले त आफ्नो आयुबाट १० वर्ष आयु प्रधानमन्त्रीलाई थपिदिन्छु समेत भन्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>