चितवन विशेष
कोरोना प्रभावः चितवनको बजारमा माक्सको अभाव

मधुसूदन दवाडी
चितवन, फागुन १९-
पूर्वी चितवनको राप्ती नगरपालिकाबाट सप्तगण्डकी बहुमुखी क्याम्पस पढ्न आउने विकास रसाइली हरेक दिन माक्स लगाएर मात्र कलेज पढ्न आउँछन् । उनी भन्छन्, ‘कोरोनाको हल्लाले पनि माक्स लगाएको हो ।’ उनलाई चीनमा जस्तै कोरोना लागेर अकालमा मर्नुपर्छ कि भन्ने त्रास छ । उनी जस्ता धेरै मानिस चितवनका सडकमा माक्स लगाएर हिड्न थालेको देखिन्छ । पहिले माक्सलाई खासै वास्ता नगरे पनि अहिले हरेक पेसा र व्यवसायमा माक्स लगाउनेहरुको संख्या ह्वात्तै बढेको छ । सप्तगण्डकी क्याम्पसमा नै प्राध्यापक तथा कर्मचारीहरु कोरोनाको त्रासले हात नमिलाएर नमस्कार गर्ने प्रचलन पनि बढ्दै गएको छ । बजार, चिया पसल र बाटोमा पनि अहिले कोरोनाले नै विशेष चर्चा पाएको देखिन्छ । यसबारे मानिसहरु विशेष सतर्क हुँदै गएका छन् । चितवनमा नोबोल कोरोना भाइरस नफैलिए पनि विश्वव्यापीरुपमा फैलिएपछि यसको त्रास भने बढ्दै गएको देखिन्छ ।
त्रासकै कारणले चितवनमा माक्स प्रयोगकर्ताहरु बढ्दा अहिले बजारमा माक्सको अभाव देखिएको छ । मेडिकल सिटी भनिएर चिनिएको भरतपुरका अस्पताल तथा औषधिपसलहरुमा सामान्य माक्सको अभाव देखिन्छ । भरतपुरको नारायणी सामुदायिक अस्पतालको फार्मेसीमा अहिले सर्वसाधारण नागरिकले किन्छु भन्दा पनि माक्स पाउँदैन । फार्मेसीकी कर्मचारी संगीता पौडेलले भनिन्, ‘अस्पतालका नर्स र डाक्टरहरुको लागि मात्र २०० वटा माक्स छ । सर्वसाधारण नागरिकको लागि भने छैन ।’ उनले कोरोनाको त्रासकै कारणले यस्तो भएको नारायणी अनलाइनलाई बताइन् ।
त्यस्तै भरतपुरकै हाकिमचोकमा रहेको अभय क्लिनिकका सञ्चालक आमप्रकाश रिजालले पनि तीन हप्ता अघिदेखि बजारमा माक्सको अभाव रहेको बताए । उनले भने, ‘कोरोनाका कारणले झण्डै एक वर्षसम्मलाई पुग्ने माक्स केही दिनमा सकियो । ’ तर, बजारमा पाइने सामान्य प्रकारका माक्सले भने नोबल कोरोना भाइरसबाट बचाउन नसक्ने चिकित्सकहरु बताउँछन् । भरतपुर अस्पतालका वरिष्ठ फिजिसिएन डा भोजराज अधिकारीले एन नाइन्टिन फाइभ माक्स बाहेक अन्य सामान्य माक्सले नोबोल कोरोना भाइरसबाट बचाउन नसक्ने विचार राखे । उनले भने, ‘यस्ता विशिष्ट माक्स भरतपुरमा चिकित्सककै लागि पनि उपलब्ध छैन । मैले भरतपुर अस्पतालको मेडिकल वार्डमा बल्लबल्ल एउटा खोजेर ल्याएको छु । सर्वसाधारणले किन्ने पाउने त सम्भावना नै छैन । ’ बजारमा मानिसहरुले प्रयोग गर्ने माक्स विशिष्ट माक्स नभेट्दाको विकल्प मात्र भएको उनको विचार थियो ।
चितवनमा सामान्य मजदुरी गरेर खाने मानिस भन्दा पनि धेरै अनलाइन तथा सामाजिक माध्यमबाट कारोनाको बारेमा समाचारहरु हेर्ने मानिस बढी त्रासमा रहने गरेका छन् । वरिष्ठ फिजिसिएन डा अधिकारीले धेरै समाचार हेर्ने मानिसहरु बढी त्रसित पाएको बताए । उनले भने, ‘निरक्षर र विकट भेगका मानिसहरुमा कोरोनाका खासै त्रास छैन तर शहरी भेगमा आमसञ्चार माध्यमहरुको प्रभावले पनि कोरोनाको बढी प्रभाव देखिन्छ । ’ बढी तापक्रम बढ्दै गएकोले पनि तातोमा भाइरस खासै फैलन नपाउने भएकोले पनि चितवन सुरक्षित रहेको उनले बताए । नोबल कोरोनाबाट स्वस्थ व्यक्ति भन्दा पनि दीर्घरोगी बढी प्रभावित हुने उनको विचार थियो ।
(फाइल तस्विर)
























