चितवन विशेष

सकियो अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी, उपयोगी बन्यो पोल्ट्री पाठशाला

Banner

चितवन, फागुन १८–

अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीमा सहभागी हुन आएका कृषक प्रदर्शनीमा भन्दा पाठशालामा बढी व्यस्त देखिन्थे । तीन दिनसम्म यहाँ भएको प्रदर्शनीमा राखिएका विभिन्न प्रविधिको अवलोकन गर्दै उनीहरु पोल्ट्रीसम्बन्धी ज्ञान लिनका लागि प्रदर्शनीस्थलमै रहेको पाठशाला पस्ने गरेका थिए ।

पाठशालामा भेटिनुभएका मानबहादुर विश्वकर्मा प्रदर्शनीमा प्रविधि हेर्न आउनुभएको थियो तर उहाँ पाठशालामा निकै व्यस्त रहनुभयो । प्रविधिसँगै पाठशालाले आफूलाई सिक्ने अवसर दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ प्रविधिको प्रयोग कसरी गर्ने र पोल्ट्री क्षेत्रलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पाठशालाले ज्ञान दियो ।”

प्रदर्शनीमै भेट हुनुभएका पशु चिकित्सक सुवास खतिवडा निकै उत्साहित मुद्रामा हुनुहुन्थ्यो । पोल्ट्री व्यवसाय गर्ने सोचका साथ प्रदर्शनीको अवलोकनका लागि झापाबाट आउनुभएका खतिवडा यहाँ पाएको ज्ञानको सही सदुपयोग गर्न सकेमा पोल्ट्री क्षेत्रको विकास विदेशीले गरे जस्तै हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले यहाँ सिकाइएका कुराले भइरहेको उत्पादनलाई कसरी राम्रो बनाउने, जैविक विधिको प्रयोग कसरी गर्ने र उत्पादन कसरी बढाउने भन्ने प्रश्नको उत्तर दिने खालको छ ।” नेपालमा अहिलेसम्म प्रयोगमा ल्याइएको विधिभन्दा विदेशमा प्रयोगमा ल्याइएको विधि सस्तो र सहज हुने उहाँले बताउनुभयो ।

पाठशालामा सिकेका ज्ञानलाई आगामी दिनमा पोल्ट्री क्षेत्रमा प्रयोगमा ल्याउने राधिका अधिकारीको भनाइ छ । पाठशालाले कृषकलाई मात्र नभएर उपभोक्तालाई समेत ज्ञान दिने काम गरेको उहाँले बताउनुभयो । पोल्ट्री क्षेत्रमा देखिएका सामान्य समस्या सामान्य तवरबाटै अन्त्य गर्न सकिने पाठशालाबाट ज्ञान भएको अधिकारीले बताउनुभयो । प्रदर्शनीमा विदेशी उपकरणको प्रयोग कसरी गर्ने भन्ने विषयमा बुझ्न आउनुभएकी अधिकारी पाठशाला पोल्ट्री क्षेत्रको विकासका लागि कोशेढुङ्गा बनेको बताउनुहुन्छ ।

नेपाल पोल्ट्री महासङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीमा नेपाल भेटेरिनरी सङ्घको सहकार्यमा पोल्ट्री पाठशाला आयोजना गरिएको थियो । पाठशालाका संयोजक डा सुवीर सिंह विश्वका विभिन्न देशमा पोल्ट्री क्षेत्रमा प्रयोगमा आएका प्रविधिको कृषक र प्राविधिकलाई ज्ञान दिनका लागि पाठशाला आयोजना गरिएको बताउनुहुन्छ । पाठशालामा पोल्ट्री क्षेत्रमा भइरहेका नवीनतम् खोज, अनुसन्धान तथा प्रविधिका बारेमा जानकारी गराइएको सिंहले जानकारी दिनुभयो ।

पाठशालामा कुखुरापालन तथा व्यवस्थापन, कुखुरापालन र स्वास्थ्य, कृषक पाठशाला, व्रिडर म्यानेजमेन्ट लगायतका विषयमा स्वदेशी तथा विदेशी विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पाठशालाबाट ३२६ जनाले शिक्षा लिएको सिंहले जानकारी दिनुभयो ।

शुक्रबार पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको प्रदर्शनी आज सम्पन्न भएको छ । प्रदर्शनी तीन दिन भए पनि पाठशाला भने चार दिनसम्म चलेको थियो । प्रदर्शनीमा नेपालसहित १५ देशका दुई सय स्टल रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>