चितवन विशेष
भरतपुर महोत्वसमा लोकदोहोरीको रौनक सुरु

चितवन, फागुन १८-
भरतपुरको केन्द्रीय बस टर्मिनलमा रहेको राष्ट्रिय सहकारी बोर्डको चौरमा जारी पहिलो भरतपुर सांस्कृतिक महोत्सवमा आजदेखि लोक तथा दोहोरी गीत प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा जिल्लाका आठ समूहले भाग लिएका छन् । प्रतियोगिताको पहिलो दिन चार वटा समूह सेमिफाइनलमा प्रवेश गरेका भरतपुर महोत्सवका मूल संयोजक एवम् भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष श्याम पौडेलले जानकारी दिए ।
त्यस्तै आज नै साँस्कृतिक कार्यक्रमअन्तर्गत राष्ट्रिय लोक तथा दोहोरी गायक कुलेन्द्र विकले आफ्ना प्रस्तुति राखेका पौडेलले बताए । सोमबारको सांस्कृतिक कार्यक्रममा शान्तिश्री परियारले आफ्नो प्रस्तुति राख्ने आयोजकले जनाएको छ । महोत्सवको सांस्कृतिक कार्यक्रममा मंगलबारदेखि रत्यौली गीत प्रतियोगिता, बाल नृत्य प्रतियोगिता हुनुका साथै चर्चित र्यापर भिटेनसहित विभिन्न कलाकारहरुले प्रस्तुति राख्ने बताइएको छ । फागुन २७ गतेसम्म सञ्चालन हुने प्रथम भरतपुर सांस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ ले कृषि, पर्यटन, स्थानीय उत्पादन, उद्योग तथा व्यापारिक उत्पादनलाई प्रवद्र्धन गरेको पौडेलले जानकारी दिए । महोत्सवको आकर्षणको रुपमा बीस हजारी तालको आकृति, थारु तथा चेपाङ समुदायको सांस्कृतिक घरसहित मालिका मन्दिरको आकृति महोत्सव स्थलमा निर्माण गरिएको पौडेलको भनाइ छ ।
सो महोत्सवमा पोल्ट्री, केरा, माछा, दूधलगायतका उत्पादनलाई प्रवद्र्धन गरिएको मूल संयोजक पौडेलले बताए । महोत्सवमा अटोसम्बन्धी १०, फास्टफुडका १०, आइसक्रिम तथा पानीजन्य १५ वटा, फेन्सी तथा व्यापारिक, औद्योगिक उत्पादन, पर्यटन प्रवद्र्धनका साथै सामाजिक संघसंस्थाका स्टलसमेत २५० भन्दा बढी स्टल रहेको महोत्सवको सचिवालय संयोजक एवम् भरतपुर बजार व्यवस्थापन समितिका सचिव बाबुराम गैरेले जानकारी दिए । महोत्सवको आम्दानीबाट बचेको रकममध्ये भरतपुर बसपार्कमा नेपालमै ठूलो राष्ट्रिय झण्डाको स्तम्भ निर्माण, पर्यटन प्रवद्र्धन र केही रकम निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई समेत प्रदान गर्ने लक्ष्य रहेको छ ।

























