चितवन विशेष

भरतपुर महानगरमा सूर्तीजन्य वस्तुको प्रयोगमा कडाइ, २६ होटलमा छापा

Banner

चितवन, फागुन १५-

भरतपुर महानगरपालिकाले सूर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रणका लागि अनुगमनलाई कडा बनाएको छ ।

आज महानगरबाट खटिएको अनुगमन टोलीले भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज वरिपरिका पसल, होटल र रेष्टुरेन्टमा सुर्तीजन्य पदार्थ बिक्री वितरणको अवस्थाको अनुगमन गरेको भरतपुर महानगर कार्यालयले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

टोलीले अनुगमन गरेका २६ वटा पसल, होटल र रेस्टुरेन्टमध्ये १६ वटा होटल, रेष्टुरेन्ट तथा पसलहरुमा विभिन्न किसिमका सुर्तिजन्य पदार्थहरु फेला पारेर जफत गरेको छ । यिनमा भोला, रजनिगंघा, सुर्ती, शुद्ध प्लस रेड, राज निवास, तुलसी, मेघदूतजस्ता ब्राण्डका गुट्खा र अनेक ब्राण्डका चुरोट रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा जनाइएअनुसार सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन–२०६८ को दफा १७ ले दिएको अधिकार प्रयोग गरी अनुगमन टोलीले तत्काल जरिवाना गरेको हो । अनुगमनको क्रममा १६ वटा पसल लगायतबाट ३४ हजार ८०० रुपैयाँ जरिवानावापत प्राप्त भएको छ ।

यस्तो अनुगमनको कार्य आगामी दिनमा महानगरले थप सक्रियतापूर्वक गर्ने विज्ञप्तिमा उल्लेख छ । महानगरले कार्यालयले भरतपुर महानगरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउने अभियानमा सम्पूर्ण महानगरवासीहरुको सहयोग प्राप्त हुने विश्वास लिएको छ ।

भरतपुर महानगरलाई सूर्तीजन्य पदार्थरहित बनाउने अभियानको हिस्साअन्तर्गत महानगरले अनुगमनको कार्य सुरु गरेको हो । केही समयअघि महानगरपालिका कार्यालयले विभिन्न सञ्चार माध्यमद्वारा सार्वजनिक स्थलहरुमा सूर्तीजन्य पदार्थ सेवन तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएकोबारे सूचना सम्प्रेषण गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>