चितवन विशेष
भोलिबाट सुरु हुने भनिएको भरतपुर महोत्सव पाँच दिन पछि सर्योे, तयारी नपुगेको आयोजकको दाबी

चितवन, फागुन १०-
भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजना हुने प्रथम भरतपुर सांस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव–२०७६ फागुन १६ गतेदेखि मात्रै सुरु हुने भएको छ ।
यसअघि भोलि अर्थात् फागुन ११ गते महोेत्सव सुरु हुने भनिए पनि तयारी नपुगेपछि हावाहुरी र पानीको कारण देखाउँदै महोत्सव स्थगित गरिएको हो । शुक्रबार आएको हावाहुरी र पानीको कारण महोत्सव स्थलमा परेको असर तथा केही तयारी गर्न बाँकी रहेकाले महोत्सवको मिति सारिएको आयोजकले जनाएको छ । महोत्सवका मूल संयोजक एवम् भरतपुर व्यवस्थापन समितिका अध्यक्ष घनश्याम पौडेल र महोत्सवका सचिवालय संयोजक एवम् समितिका सचिव बाबुराम गैरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा महोत्सव १६ गतेदेखि मात्रै सुरु हुने उल्लेख गरिएको छ । मूल संयोजक पौडेलले महोत्सवको मिति सरेका कारण महोत्सवमा आकर्षणको रुपमा जनजातिको सांस्कृतिक घर, बीसहजारी ताल, मालिका मन्दिर निर्माण गरिने बताए ।
त्यस्तै चर्चित र्यापर भिटेन, बाल नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता समेत महोत्सवमा थप गरिएको उनको भनाइ छ । भरतपुर बजार व्यवस्थापन समितिको आयोजनामा हुने महोत्सवमा पोल्ट्री, केरा, माछा, दूधलगायतका उत्पादनलाई प्रवद्र्धन गरिने मूल संयोजक पौडेलले बताए । फागुन १६ देखि सुरु गरेर महोत्सव २५ गतेसम्म जारी रहने सचिवालय संयोजक बाबुराम गैरेले बताए । सो महोत्सवमा अटोसम्बन्धी १० वटा, फास्टफुडका १० वटा, आइसक्रिम तथा पानीजन्य १५ वटा, फेन्सी तथा व्यापारिक, औद्योगिक उत्पादन, पर्यटन प्रवद्र्धनका साथै सामाजिक संघसंस्थाको गरी २५० बढी स्टल रहने गैरेले बताए । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी महोत्सवमा औद्योगिक उत्पादन र पर्यटन प्रवद्र्धन कार्यक्रमलाई समावेश गरिने उनले बताए ।
स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले पोल्ट्री जन्य उत्पादन तथा उपकरणका स्टललाई स्टल भाडामा ५० प्रतिशत छुट, सामुहिक पशुपालन, सामूहिक खेती गर्ने स्टलमा ५० प्रतिशत छुट र अन्य कृषि उत्पादनका स्टलको लागि स्टलमा १० प्रतिशत छुटको व्यवस्था गरिने आयोजकको भनाइ छ । महोत्सवबाट बचेको रकममध्ये भरतपुर बसपार्कमा नेपालमै ठूलो राष्ट्रिय झण्डाको स्तम्भ निर्माण, पर्यटन प्रवद्र्धन र केहि रकम निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध रङ्गशालालाई समेत प्रदान गर्ने लक्ष्य छ । महोत्सव सम्पन्न गर्नका लागि करिब एक करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।

























