अर्थ

खैरहनीको राजश्वमा उल्लेखीय सुधार, ७ महिनामा ८ करोड संकलन

Banner

चितवन, फागुन २–

चितवनको खैरहनी नगरपालिकाले राजश्व संकलनमा उल्लेखीय सुधार ल्याएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा करिव ८ करोड रुपैयाँ संकलन भएको छ ।

नगरपालिकाको राजश्व शाखाका अनुसार साउनदेखी माघ मसान्तसम्म ७ करोड ८४ लाख ७० हजार रुपैयाँ संकलन भएको नगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए । यो लागत सहभागीता बाहेक रकम हो । यो अवधिमा १ करोड ४५ लाख ४४ हजार ९१४ रुपैयाँ लागत सहभागीता रहेको छ । अघिल्लो आर्थिक वर्षमा यही अवधिमा लागत सहभागीतासहित ६ करोड ११ लाख ९९ हजार रुपैयाँ संकलन भएको थियो । त्यो अवधिमा १ करोड १९ लाख लागत सहभागीता थियो । अघिल्लो वर्षको ७ महिनाको तुलनामा यो वर्ष २ करोड ९१ लाख ७१ हजार रुपैयाँ बढी राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षमा खैरहनी नगरपालिकाले १२ करोड रुपैयाँ आन्तरिक रुपमा संकलन गर्ने लक्ष्य लिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत शर्माका अनुसार माघ मसान्तसम्म सबैभन्दा धेरै घरजग्गा रजिष्ट्रेशनबाट ४ करोड २९ लाख ५५ हजार रुपैयाँ संकलन भएको छ । एकीकृत सम्पती कर शीर्षकबाट १ करोड ३५ लाख २४ हजार, व्यवसाय रजिष्ट्रेशनबाट ५४ लाख ३७ हजार रुपैयाँ, घरवहाल करबाट २९ लाख २९ हजार रुपैयाँ, सिफारिस दस्तुरबाट २५ लाख ९७ हजार रुपैयाँ, नक्सापास दस्तुरबाट २२ लाख ५९ हजार रुपैयाँ, भुमिकर÷मालपोतबाट १२ लाख १५ हजार रुपैयाँ संकलन भएको नगरपालिकाले जनाएको छ ।

स्थानीय चुनावबाट जनप्रतिनिधि निर्वाचित भएको पहिलो वर्ष करिब डेढ करोडको हाराहारीमा आन्तरिक राजश्व संकलन भएको थियो । करिव तीन वर्षको अवधिमा राजश्व संकलनले फड्को मार्नु नगरपालिका आफ्नै आम्दानीबाट सक्षम बन्ने संकेत मिलेको खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरी बताउँछन् । ‘अहिले संघ, प्रदेशबाट रकम आईरहेको छ, कुनै बेला रोकिन सक्ला यस्तो अवस्थामा नगरपालिका आफ्नै आम्दानीबाट चल्न सक्ने बनाउनुपर्छ’– नगर प्रमुख चौधरीले भने । अघिल्लो वर्ष ९ करोड रुपैयाँ आन्तरीक श्रोतबाट आम्दानी गर्ने लक्ष्य लिएकोमा झन्डै ११ करोड बढी राजश्व संकलन भएको थियो ।

राप्तीमा साढे चार करोड

चार वटा वडा पहाड समेटेर बनेको राप्ती नगरपालिकाको राजश्व संकलन पनि उत्साहजनक रहेको छ । चालु आर्थिक वर्षको ७ महिना महिनामा करिव ४ करोड ५० लाख रुपैयाँ आन्तरिक श्रोतबाट संकलन भएको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांईले बताए । चालु आर्थिक वर्षमा लक्ष्यलाई भेटाउन अब डेढ करोड राजश्व संकलन भए पुग्छ । राप्तीले यो वर्ष ६ करोड रुपैया आन्तरिक श्रोतबाट संकलन गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत हुमागांईले बताए ।

राप्तीले यो अवधिमा सबैभन्दा धेरै घरजग्गा रजिष्ट्रेशनबाट २ करोड २३ लाख रुपैयाँ प्राप्त गरिसकेको छ । त्यस्तै ढुंगा गिट्टी निकासीबाट ९६ लाख, एकीकृत सम्पती करबाट ४० लाख, सिफारिस दस्तुरबाट १४ लाख, प्रशासनिक सेवा शुल्कबाट १८ लाख ७४ हजार, नक्सापासबाट ८ लाख ४८ हजार रुपैयाँ संकलन गरेको राजश्व परामर्श समिति संयोजक समेत रहेका राप्तीका उपप्रमुख इमानसिंह लामाले जानकारी दिए ।

गत आर्थिक वर्षमा ४ करोड रुपैयाँ आन्तरिक श्रोतबाट संकलन हुने लक्ष्य लिएकोमा सो लक्ष्य पुरा भएको थियो । उपमेयर लामाका अनुसार आगामी आर्थिक वर्षमा ९ करोड रुपैयाँ आन्तरिक श्रोतबाट संकलन हुने अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>