राजनीति

यी हुन् मुद्धा खेपी रहेका नेताहरु

Banner

सुवास कंडेल

काठमाडौं, फागुन १-

पछिल्लो समय जनप्रतिनिधिनै अपराधिक क्रियाकलापमा संलग्न भइरहेका छन् । वडाध्यक्षदेखि सभामुखसम्म अपराधमा मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनअनुसार, ९५ जना जनप्रतिनिधि पक्राउ परेका छन् ।

संघीय संसद्का सांसदले फौजदारी मुद्दा खेपिरहेका छन् । प्रतिनिधिसभा नियमावलीअनुसार, फौजदारी अभियोग लागेपछि सांसदबापत पाउने पारिश्रमिक तथा सम्पूर्ण सेवासुविधा भने रोकिने व्यवस्था छ ।

१. कृष्णबहादुर महरा

यौन दुव्र्यवहारको मुद्दामा दाङ–२ बाट प्रतिनिधिसभामा निर्वाचित नेकपा सांसद एवं पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि काठमाडौंको डिल्लीबजार कारागारमा छन् ।

काठमाडौं जिल्ला अदालतले दिएको आदेश उच्च अदालत पाटनबाट पनि सदर भएपछि मुद्दा फैसलाको प्रक्रिया अगाडि बढिरहेको छ ।

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयासको अभियोगमा उनी थुनामा रहेका छन् ।

२. विजयकुमार गच्छदार

कांग्रेस संसदीय दलका उपनेता एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार यतिबेला संसद् सदस्यबाट निलम्बनमा परेका छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको अभियोगमा गच्छदार माथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका गच्छदार सुनसरी–३ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका थिए ।

बालुवाटारको १३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा पु¥याएको अभियोगमा गच्छदारसहित १७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले गच्छदारलाई १३ वर्षसम्मको कैद सजायसँगै माग राखी मुद्दा दायर गरेको छ ।

३. नारदमुनि राना

रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा अख्तियारले नेकपा सांसद् नारदमुनि रानालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।

उनी गत प्रतिनिधिसभाको निर्वाचमा कैलाली–५ बाट निर्वाचित हुन् ।

४. पार्वत गुरूङ

नेकपा सांसद् पार्वत गरूङविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । काठमाडौं जिल्ला अदालतमा दोलखाका वीरध्वज खड्काले २०७६ वैशाख २९ गते गुरूङसहति मीनबहादुर तामाङ, कारसाङ भन्ने कर्ण तामाङ, उर्मिला थामी, जीवन तामाङ, सागर तामाङ र सविन तामाङविरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेका थिए ।

गत स्थानीय तहको निर्वाचनक्रममा काठमाडौंको गौशालामा दोलखाकै वीरध्वज खड्काले गुरूङको समेत संलग्नतामा आफूमाथि सांघातिक आक्रमण गरेको भन्दै महानगरिय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएका थिए । सो मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ । अदालतले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ । फौजदारी अभियोगको मुद्दा खेपिरहेका उनी अहिले मन्त्री छन् ।

५. मोहम्मद अफताब आलम

सांसद मोहमत अफताव आलम बम विस्फोटमा घाइते भएका व्यक्तिलाई ईटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा छन्।

संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोटमा घाइते भएका व्यक्तिलाई इटाभट्टामा हालेर मारेको अभियोगमा मुद्दा दायर गरिएको छ। उनी रौटहट जिल्ला अदालतसँगै उच्च अदालत जनकपुरको आदेशमा काठमाडौंको नख्खुस्थित कारागारमा छन्।

उनी कांग्रेसको तर्फबाट रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।

६. हरिनारायण रौनियार

बर्दियाको जब्दिघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग गरेको भन्दै पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् ।

अख्तियारले २०७५ असोज १९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

रौनियार भ्रष्टाचार मुद्दा दायर भएकै दिनबाट निलम्बन परेका थिए । उनी संघीय समाजवादी पार्टीबाट पर्सा–३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

७. रेशमलाल चौधरी

थारुवान–थरूहट आन्दोलन क्रममा टीकापुर घटनामा दोषी देखिएको भन्दै कैलाली जिल्ला अदालतले रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ।

संविधान जारी हुनुअघि २०७२ भदौ ७ गते भएको थारुवान–थरूहट आन्दोलन क्रममा टीकापुरमा भएको घटनामा नौ जना मृत्यु भएको थियो । त्यहि घटनामा जिल्ला अदालते चौधरीसहति ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

उनी अहिले डिल्लीबजारस्थित कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

उम्मेदवारी दर्ता गरेका चौधरी कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>