चितवन विशेष
पटिहानीमा अम्ब्रेला स्ट्रिटको उद्घाटनसंगै फूड फेस्टिबल हुँदै

चितवन, माघ २९–
नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको पटिहानीमा भोलि (बिहीबार) अम्ब्रेला स्ट्रिटको समुद्घाटनसंगै पटिहानी फूड फेस्टिबल सुरु हुँदैछ ।
भरतपुर महानगरपालिका वडा नं.२२ ले निर्माण गरेको अम्ब्रेला स्ट्रिटको समुद्घाटनसंगै पहिलोपटक स्थानीय खानाका परिकारलाई प्रवद्र्धन गर्न पटिहानी फूड फेस्टिबल आयोजना गरिएको हो । अम्ब्रेला स्ट्रिटको पूर्वप्रधानमन्त्री एवंम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो समुद्घाटन गर्ने कार्यक्रम रहेको वडा नं.२२ का अध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।
पटिहानी क्षेत्रको प्रवद्र्धनका लागि करिव ३ करोड रुपैयाँको लागतमा अम्ब्रेला स्ट्रिट निर्माण गरिएको अध्यक्ष महतोले बताए । करिव १० कठ्ठा परिषरमा फैलिएको अम्ब्रेला स्ट्रिटमा लहरै ४८० वटा रंगीन छाता राखिएको छ । रंगीन छाताले सो क्षेत्रको नयाँ सौन्दर्यता प्रदान गरेको छ ।

यही अम्ब्रेला स्ट्रिटको प्रवद्र्धनका लागि फूड फेस्टिबल समेत आयोजना गरिएको हो । फूड फेस्टिबलमा २० वटा स्टलहरु रहेका छन् । स्टलहरुमा स्थानीय खानाका परिकारलाई जोड दिईएको फूड फेस्टिबल प्रचारप्रसार समितिका संयोजक रामहरि सेढाईले जानकारी दिए । फूड फेस्टिबल फागुन १ गतेदेखि ३ गतेसम्म चल्ने छ । फेस्टिबलमा सांगीतक कार्यक्रम समेत आयोजना गरिएको छ । पहिलो दिन गायक मिलन लामा, टिका सानु, स्मिता दाहालले प्रस्तुती दिने छन् भने दोस्रो दिन पशुपति शर्मा, दुर्गेश थापा, सागर आले, साजन आले र दिने काफ्लेको प्रस्तुती रहने आयोजकले जनाएको छ । फेस्टिबलको अन्तिम दिन शान्तिश्री परियार र कटाब ब्याण्डको प्रस्तुती रहने प्रचारप्रसार समितिका संयोजक सेढाईले जानकारी दिए ।
पटिहानी क्षेत्रमा आउने पर्यटकका लागि फेस्टिबलको अवधिमा विशेष प्याकेजहरु समेत घोषणा गरिएको छ । अम्ब्रेला स्ट्रिटको समुद्घाटनको दिन भोलि (बिहीबार) पाँच हजार मिटर दौड प्रतियोगिता, उद्योग वाणिज्य संघ चितवनको परिषरदेखि अम्ब्रेला स्ट्रिटसम्म साइकल रेस, फेस्टिबल अवधिभर डुंगा सयर, गाडा सयर, हात्ती र जीप सफारीको व्यवस्था गरिएको छ ।
पछिल्लो समय पटिहानी चितवनको नयाँ आकर्षक गन्तव्यको रुपमा विकास भइरहेको छ । नेपाल सरकारले पछिल्लो समय सूचीकरण गरेको १०० नयाँ पर्यटकीय गन्तव्यमा पटिहानी पनि पर्दछ । पटिहानीमा थ्री स्टारसम्मका होटलहरु खुल्दैछन् । हाल पटिहानीमा ९ सय वटा कोठाा साना तथा ठूला होटलहरुमा रहेका छन् ।
























