चितवन विशेष
गैँडाकोट महोत्सव भोलि सकिँदै

चितवन, माघ २६
गैँडाकोटको नारायणी नदी किनारमा सञ्चालन भइरहेको तेस्रो गैँडाकोट महोत्सवको आइतबार २० हजार बढी दर्शकले अवलोकन गरेका छन् ।
जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरको आयोजनामा माघ १५ गतेदेखि सुरु भएको महोत्सवमा दर्शकको उपस्थिति उत्साहजनक रहेको संघका कोषाध्यक्ष एवम् महोत्सवका आर्थिक तथा प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए । दर्शकको उल्लेख्य सहभागिताका कारण आयोजकले एक दिन थपेको थियो ।
महोत्सवको आकर्षणका रुपमा नारायणी नदीमा ¥याफ्टिङ, लण्डन ब्रीज आकारको प्रवेश द्वार, बुर्ज अल अरब दुबई (सेल्फी जोन)लगायतका रहेका सापकोटाले बताए । तेस्रो गैँडाकोट महोत्सवमा थारु, गुरुङ, थकालीसहित विभिन्न जातजातिका नौ वटा सांस्कृतिक घर, उद्योग, वाणिज्य, व्यवसायिक तथा पर्यटन सम्बन्धी ३५० भन्दा बढी स्टलका साथै बाल उद्यानसमेत रहेको जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताए ।
भट्टचनकाअनुसार स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सवका सबै स्टलहरु बाँसबाट निर्माण गरिएका छन् । नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागिसमेत महोत्सवले थप ऊर्जा प्रदान गर्नेे भट्टचनले बताए । गैँडाकोट महोत्सवका सचिवालय संयोजक एवम् जिल्ला उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलले महोत्सव सफल पार्न विभिन्न २२ वटा उपसमिति गठन गरिएको बताए । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उल्लेख गर्दै कँडेलले विद्यार्थी तथा समूहमा जानेका लागि विशेष सहुलियत प्रदान गरिएको जानकारी दिएका छन् ।
महोत्सवको साँस्कृतिक कार्यक्रममा आइतबार चर्चित गायक प्रकाश सपूत र स्थानीय कलाकारको प्रस्तुति रहेको सांस्कृतिक संयोजक नवराज कँडेलले जानकारी दिए । महोत्सवमा सोमबार राजनराज सिवाकोटी, मञ्जु पौडेल तथा स्थानीय कलाकारको प्रस्तुति रहने जानकारी दिँदै कँडेलले दैनिक रुपमा रसियन कलाकारहरुले समेत प्रस्तुति राखेका बताए । महोत्सवको भोलि सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले समापन गर्ने बताइएको छ । महोत्सवमा ४० करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ ।
























