चितवन विशेष
चितवनको मोहनामा होमस्टे सञ्चालनमा

रत्ननगर माघ २२-
चितवनको रत्ननगरमा होमस्टे सञ्चालनमा आएको छ ।
पर्यटकीय नगरी सौराहाको नजिक रहेको मोहनामा १५ जनाको समूहले बुधबारबाट मोहना कम्युनिटी होमस्टे सञ्चालनमा ल्याएका हुन् ।
पछिल्लो पटक विदेशीसहित स्वेदशी पर्यटकहरु स्थानीयस्तरका खानाका परिकार मन पराउन थालेका र होटलको तुलनामा होमस्टेमा सस्तो हुने हुँदा पनि होमस्टेमा बस्ने र खाना खान रुचाउनेहरुको संख्या वृद्धि हुँदै गएको कारण गाउँका दिदीबहिनी मिलेर होमस्टे सञ्चालनमा ल्याएको मोहना कम्युनिटी होेमस्टेकी अध्यक्ष शान्ता पण्डितले बताइन् ।
बुधबार भएको भेलाले पण्डितको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति पनि गठन गरेको छ । जसको उपाध्यक्षमा दीपा थपलिया, कोषाध्यक्षमा निर्मला मैनाली चयन भएका छन् । त्यस्तै सदस्य सचिवमा अनिता अधिकारी रहेकी छन् भने सदस्यमा भगवती मैनाली , जमकी महत र रीना बस्नेत रहेका छन् ।

भेलाले सल्लाहकार समितिसमेत गठन गरेको छ । सल्लाकार समितिमा लोक गायक मिलन लामा, कौशिला मैनाली अमात्य, विष्णुहरि देवकोटा, होमनाथ रेग्मी रहेका छन् । कार्यक्रममा नेपालमा होमस्टेको अवस्था र सञ्चालको तरिकाको बारेमा नेपाल होमस्टे एशोसिएसनकी केन्द्रीय उपाध्यक्ष एवम् पनौती होमस्टेकी अध्यक्ष कौशिला मैनाली अमात्यले प्रकाश पारेकी थिइन् । कार्यक्रममा वडा सदस्य सरस्वती लामा, लोक गायक मिलन लामा, टिकौली होमस्टेका अध्यक्ष बुद्धिमान विकलगायतले बोलेका थिए ।
























