चितवन विशेष
भरतपुर अस्पतालमा सुसार कार्यक्रम, ५० प्रतिशत शिशुको मृत्युदर घट्ने

चितवन, माघ २०-
मातृ तथा नवजात शिशुको स्याहारको गुणस्तरमा सुधार ल्याउनका लागि चितवनमा ‘सुसार’ कार्यक्रम सञ्चालन गरिएको छ ।
गोल्डेन कम्युनिटी र भरतपुर अस्पतालको सहकार्यमा ‘सुसार’ कार्यक्रम सञ्चालन गरिएको हो । मातृ तथा नवजात शिशु स्याहारमा पु¥याउने थप गुणस्तरीय सेवा बारेमा सर्वसाधारणलाई सक्षम जानकारी पु¥याउनका लागि भरतपुर अस्पतालमा दुई वर्षसम्म सुसार कार्यक्रम सञ्चालन गरिने कार्यक्रम संयोजक रेजिना गुरुङले जानकारी दिइन् । यस कार्यक्रमले गुणस्तरीय सेवा सुधारअन्तर्गत अस्पतालमा विद्यमान मातृ तथा शिशु स्याहार सेवालाई ज्ञान, सीप तथा प्रविधिहरु प्रयोगमा ल्याई नवजात शिशुको मृत्युदरमा कमी ल्याउने विश्वास गुरुङले लिइन् ।
‘भरतपुर अस्पतालमा नवजात शिशुको मृत्युदर एकदम कम छ । यसलाई थप प्रभावकारी बनाउनका लागि हामीले सक्दो प्रायास गर्नेछौँ’, उनले भनिन्, ‘दुई वर्षको अवधिमा ५० प्रतिशत नवजात शिशुको मृत्युदर घटाउने लक्ष्य राखेका छौँ ।’ कार्यक्रमका लागि लाग्ने आवश्यक रकम गोल्डेन कम्यूनिटी व्यहोर्ने छ । कार्यक्रमबाट तालिम र सुपरिवेक्षणद्वारा मातृ तथा शिशु स्याहारमा संलग्न स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने उनले बताइन् । ‘स्वास्थ्यकर्मी र आमाले शिशुको स्याहारमा ध्यान नदिँदा संक्रमण बढ्ने गर्छ ।’ उनले भनिन्, ‘त्यसलाई मध्यनजर गर्दै आवश्यक उपकरण र तालिम प्रदान गर्नेछौँ ।’ संक्रमणका कारण १९ प्रतिशत नवजात शिशुको मृत्यु हुने गर्छ ।
भ्रुणको मुटुको धड्कन जाँचका लागि मोयो, नवजात शिशुको मुटुको धड्कन जाँचका लागि नियोबिट तथा जन्मदा सास फेर्न नसकेका शिशुलाई कृत्रिम स्वास–प्रस्वास गराउन अपराइट व्याग–मास्क जस्ता आधुनिक उपकरणको सेवा बढाउने लक्ष्य राखिएको छ । गैरसरकारी संस्था गोल्डेन कमिनिटिले चितवनसहित देशका आठ सरकारी अस्पतालमा यो कार्यक्रम सञ्चालन भएको छ । वाग्मती प्रदेशअन्तरगत भरतपुर अस्पताल मात्र यो कार्यक्रम सञ्चालनमा भएको हो । कोशी अस्पताल, प्रादेशिक अस्पताल जनकपुर, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, प्रदेश अस्पताल कर्णाली सेती प्रादेशिक अस्पताल, डडेलधुरा अस्पतालमा सुसार कार्यक्रम सञ्चालन गरिएको गोल्डेन कम्युनिटी सञ्चार विज्ञ सिर्जना शर्माले जानकारी दिइन् । उनका अनुसार सबैभन्दा धेरै सुत्केरी हुने संघीय अस्पतालबाट छनोट गरी यो कार्यक्रम गरिएको हो । यी अस्पतालमा कार्यक्रम सञ्चालन गर्नका लागि चार करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
सरकारले हाल रहेको नवजात शिशु मृत्युदर प्रतिहजार २१ लाई सन् २०३० सम्ममा प्रति हजार जिवित जन्ममा १२ र मृत जन्मने शिशुको मृत्युदर प्रतिहजार जन्मलाई १३ मा घटाउन लक्ष्य राखेको छ । सरकारको योजनालाई सफल पार्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने शर्माले बताइन् । अहिले नेपालमा हरेक वर्ष ६ लाख बच्चा जन्मने गरेको राष्ट्रिय स्वास्थ्य सर्वेक्षणको तथ्याङ्कले देखाउने गरेको छ । त्यसमध्ये ११ हजार शिशु मृत अवस्थामा जन्मने र करिब १३ हजार नवजात शिशु जन्मेको एक महिना नपुग्ने गरेको राष्ट्रिय स्वास्थ्य सर्वेक्षणलाई उधृत शर्माले बताइन् । महिना नपुगि जन्मनु, जन्मनासाथ सास फेर्न नसक्नु तथा संक्रमणका कारण नवजात शिशुको मृत्यु हुने गरेको छ । त्यसमध्ये महिना नपुगी जन्मका आधारमा मत्यु हुनेको संख्या ३१ प्रतिशत छ ।
विभिन्न किटाणुको संक्रमणका कारण १९ प्रतिशत रहेको उनले बताइन्् । जन्मेको पहिलो घण्टामा १७ प्रतिशत, शिशु जन्मेको पहिलो दिनमा ५७ र जन्मेको हप्तामा ७९ प्रतिशत मृत्यु हुने गरेको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै प्रदेश नम्बर २ मा रहेका छन् । हजार जना बराबर ३१ जनाको मृत्यु हुने गरेको छ । सबैभन्दा कम वाग्मती प्रदेशमा हजार बराबर १८ जनाको मृत्यु हुने गरेको उनले बताइन् ।
कार्यक्रम पश्चात नवजात शिशु तथा मृत शिशुको संख्यामा कमी आउने लक्ष्य लिइएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारीले जानकारी दिए । सुरक्षित तरिकाले जन्माउने र हेल्दी बच्चा आमाले घरमा लैजाउन भनेर यो कार्यक्रम सञ्चालन भएको छ । डाक्टर तिवारीले भने, यस कार्यक्रमले आवश्यक उपकरणहरु पनि थप गर्ने हुँदा नवजात शिशुको मृत्युदर क्रमशः घट्ने विश्वास लिएको छु ।’ चेतनाको कमी प्रशासनिक कमजोरी र आर्थिक अभावको कारण नवजात शिशुको मृत्यु हुने गरेको उनले बताए ।

अहिले भरतपुर अस्पतालमा मातृ तथा नवजात शिशुको मृत्युदर घट्दै गएको भरतपुर अस्पतालका बाल चिकित्सक डाक्टर युवानिधि बर्सौलाले जानकारी दिए । उनका अनुसार गत वर्ष १३ हजार ५४५ जनाले भरतपुर अस्पतालमा सुत्केरी गराएकोमा २१८ जनाको मृत्यु भएको थियो । त्यसमध्ये १४५ जना मृत जन्मिएका थिए भने ३३ जना उपचारको क्रममा मृत्यु भएको उनले बताए । चालु आर्थिक वर्षको ६ महिनामा १०४ जना नवजात शिशुको मृत्यु भएको छ । जसमा ९० जना मृत जन्मिएका थिए भने, १४ जना उपचारको क्रममा मृत्यु भएको थियो । नवजात शिशुको मृत्युदर घटाउनका लागि भरतपुर अस्पतालले मायाको न्यानो अंगालो (कंगारु) सेवा र आईसीयू कक्षको सुरुवात गरेको छ ।
























