चितवन विशेष
चितवनका पत्रकारहरुको अभिलेख राख्नेबारे छलफल

चितवन, माघ २०-
पत्रकार महासंघ चितवनले जिल्लाका सबै पत्रकारहरुको अभिलेख राख्ने काम सुरु गरेको छ ।
अभिलेख राख्ने कामको सुरुवात गर्न आज पत्रकार महासंघ चितवनले सप्तगण्डकी आमसञ्चार क्लबका विद्यार्थीहरु तथा प्राध्यापकसँग तथ्यांक संकलनको लागि छलफल गरेको छ । छलफलमा पत्रकार महासंघ चितवनमा अध्यक्ष राधेश्याम खतिवडाले जिल्लाका सबै पत्रकारहरुलाई आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुले भेटेर संकलन गरेको सूचनाका आधारमा कार्यालयमा अभिलेख राखिने विचार राखे । उनले भने, ‘कतिपय पत्रकारहरुको बारेमा आवश्यक सूचना खोज्दा पनि पाउन नसकेकोले पनि अभिलेख राख्न जरुरी छ । यो पत्रकार महासंघ चितवनको राम्रो प्रयास हो ।’

कार्यक्रममा पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण अधिकारी, कोषाध्यक्ष प्रकाश ज्ञवाली, सप्तगण्डकी क्याम्पसका आमसञ्चार र पत्रकारिता विषयका प्राध्यापकहरु मधुसूदन दवाडी र दिपन्द्र अधिकारीले पनि अभिलेख राख्ने प्रक्रियाबारे सल्लाह, सुझाव दिएका थिए । कार्यक्रममा सप्तगण्डकी आमसञ्चार क्लबका अध्यक्ष चन्द्रप्रकाश उपाध्यायको नेतृत्वमा झण्डै २५ जना विद्यार्थीहरुले अभिलेखीकरणको सूचना संकलनबारे जानकारी लिएका थिए । विद्यार्थीहरुले संकलन गरेका पत्रकारहरुको सूचना हरेकको व्यक्तिगत फाइलमा व्यवस्थित ढंगले राख्ने महासंघले जनाएको छ ।
























