स्वास्थ्य
कोरोना भाइरसको ‘आतंक’ : काठमाडौं–चीन उडान बन्द

काठमाडौं, माघ२०–
चीनमा संक्रमणकै रुपमा फैलिएको कोरोना भाइरसबारे विश्वकै ध्यान तानिएको छ ।
जापान, थाइल्याण्ड, फिलिपिन्स र दक्षिण कोरियामा समेत यो फैलिएपछि थप चिन्ता व्यक्त गरिएको हो । विश्वभरका स्वास्थ्यकर्मीले यसको कारण र समाधानका उपायबारे थप चासो देखाएका छन् ।
चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि रोकथामको प्रयास स्वरुप नेपाल–चीन हवाई सेवा पनि बन्द गरिएको छ ।
चिनियाँ एयरलाइन्सले करिब एक महिनाका लागि भन्दै उडान स्थगनको जानकारी गराएका छन् ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौंवाट दैनिक उडान गर्दै आएका चार वायुसेवा कम्पनीले पनि उडान स्थगितको सूचना दिएका छन् ।
दैनिक एक उडान गर्दै आएको एयर चाइनाले फेब्रवरी ४ अर्थात भोली मंगलबार देखि २९ तारिक सम्म, चाइना स्टर्न एयरलाइन्सले ६ फेब्रवरीदेखि २८ सम्म उडान बन्द गर्ने सूचना पठाइसकेका छन् ।
सिचुवान र तीब्बत एयरलाइन्सले पनि टिकट बुकिङ नगर्न ट्राभल एजेन्सीहरुलाई सूचित गरेका छन् ।
कोरना भाइरसकै कारण फेब्रवरी एक देखी हिमालय एयरलाइन्सले चीनका तीन सहरमा उडान स्थगित गरिसकेको छ । फेब्रवरी ६ देखी बेइजिङ उडान समेत स्थगनको घोषणा गरेको छ ।
हिमालयले चीनका तीन शहरको उडान स्थगन ग¥यो
चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ ।
एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहर सेन्जेन, छाङसा र गोया उडान स्थगित गरेको हो । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कोरोना भाइरसको प्रकोपको सम्भावित जोखिमलाई दृष्टिगत गरी केही समयका लागि उडान स्थगन गरिएको राससलाई जानकारी दिए ।
हिमालयले चार्टड उडान गरिरहेका तीन गन्तब्यको उडान स्थगन गरे पनि नियमित उडान भइरहेको बेइजिङ र छोङछिङमा भने यात्रुको अवस्थालाई मध्यनजर गरेर उडान भर्ने जनाएको छ । यो गन्तव्यको उडान आगामी ६ फेब्रुअरी २०२० देखि स्थगन गर्ने योजना बनाएको कम्पनीले बजारको अवस्था अनुरुप सेवा दिनेछ ।
कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले बेइजिङ र छोङछिङको ‘सेडुअल’ उडान रिरन्तर रहने तर कम्पनी आफैँले बजारको अध्ययन गरी आवश्यकताको आधारमा उडान सञ्चालन गर्ने बताए ।
हिमालयले चीनका विभिन्न शहरसँगै हाल बङ्गलादेशको ढाका, मलेसियाको क्वालालम्पुर, यूएईको अबुदाबी, दुबई, साउदी अरेबियाको दमाम र कतारको दोहामा सिधा उडान गरिरहेको छ । कोरोना भाइरस पहिलो पटक चीनको वुहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा पहिचान भएको थियो ।
























