चितवन विशेष

गैँडाकोट महोत्सवः रसियन कलाकारको कामुक नृत्यमा नेपालीको ताली

Banner

चितवन, माघ १९

नारायणी नदी किनारमा सञ्चालित तेस्रो गैँडाकोट महोत्सवमा रसियन र नेपाली कलाकारहरुले संयुक्तरुपमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

महोत्सवमा रसियन कलाकारहरुले उत्तेजक नृत्य प्रस्तुत गरिरहेका छन् । छोटो र पारदर्शी कपडामा अर्धनग्न स्टेजमा प्रस्तुत भएका रसिएन कलाकारहरुको नृत्य देखेर केही किशोरकिशोरी भिडियो खिच्दै ताली पिटिरहेका देखिन्थे भने केही दर्शकहरु भने लजाएर आयोजकलाई गाली गरिरहेका थिए । रसिएन कलाकारहरुको उत्तेजक नृत्यसँगै आज रमेशराज भट्टराई र बाल गायिका कमला घिमिरेले प्रस्तुति राखे । गैँडाकोटको भेँडाबारीबाट आएकी ५० वर्षीया शिक्षिका सीता पौँडेलले रुसका कलाकारहरुको नांगो प्रस्तुति आफूलाई मन नपरेको बताइन् । उनले भनिन्, ‘यस्ता नृत्यले किशोर किशोरीलाई अश्लिल क्रियाकलापमा लाग्न प्रेरित गर्ने भएकोले विदेशी कलाकारको नाममा जे पायो त्यही नृत्य प्रस्तुत गर्न नहुने विचार राखिन् ।’

महोत्सवमा गायक भट्टराईले ‘बेहुला बनाउँथी भन्थी, बहुला बनाएर गई’ सहितका आफ्ना चर्चित गीतहरु गाएका थिए । त्यस्तै घिमिरेले ‘चिया छानेको’ गीत गाएकी थिइन् । त्यसैगरी, यम आले मगर, अस्मिता घर्ती, गैँडाकोट डान्स आइडलका कलाकारहरुले प्रस्तुति राखेका छन् ।  उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरको आयोजनामा गैँडाकोटको नारायणी नदी किनारमा माघ १५ देखि सुरु भएको तेस्रो गैँडाकोट महोत्सवमा सोमबार पशुपति शर्मा, अमर विरही गुरुङसहितका कलाकारहरुले प्रस्तुति राख्ने महोत्सवका सांस्कृतिक संयोजक नवराज कँडेलले बताए । आइतबार मात्रै २० हजार दर्शकले महोत्सव अवलोकन गरेको गैँडाकोट महोत्सवका आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक एवम् उद्योग वाणिज्य संघ गैँडाकोटका कोषाध्यक्ष शालिकराम सापकोटाले जानकारी दिए । महोत्सवको सांस्कृतिक कार्यक्रम, बुर्ज अल अरब दुबई (सेल्फी जोन)मा दर्शकको आकर्षण बढेको सापकोटाले जानकारी दिए ।

महोत्सव स्थलबाट नारायणी नदीमा ¥याफ्टिङको समेत व्यवस्था गरिएको सापकोटाले बताए । माघ २६ गतेसम्म सञ्चालन हुने तेस्रो गैँडाकोट महोत्सवमा कृषिका ४० वटा स्टल, विभिन्न जातजातिका नौ वटा सांस्कृतिक घरसहित उद्योग, वाणिज्य, व्यवसायिक तथा पर्यटनसम्बन्धी ३५० बढी स्टल रहेको उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताए । भट्टचनकाअनुसार महोत्सवका सबै स्टलहरु बाँसबाट निर्माण गरिएका छन् । स्थानीय उत्पादनलाई प्रोत्साहन र व्यवसाय प्रर्वद्धनका लागि महोत्सव आयोजना गरिएको उल्लेख गर्दै भट्टचनले नेपाल भ्रमण वर्ष–२०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत महोत्सवले थप ऊर्जा प्रदान गर्नेे बताए ।

गैँडाकोट महोत्सवका सचिवालय संयोजक एवम् उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलले महोत्सव सफल पार्न विभिन्न २२ वटा उप समिति गठन गरिएको बताए । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उल्लेख गर्दै कँडेलले विद्यार्थी तथा समूहमा जानेका लागि विशेष सहुलियत प्रदान गरिने बताए । महोत्सवमा आइतबार नवलपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तिलक महत, गैँडाकोट नगर प्रमुख छत्रराज पौडेल, देवचुली नगरपालिकाकी उपप्रमुख पार्वता तिवारीसहित सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>