अन्तर्राष्ट्रिय
भयावह बन्यो कोरोना भाइरसको संक्रमण, चीनबाहिर पनि लियो ज्यान

चितवन, माघ १९-
कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक चीनबाहिर एक जनाको ज्यान गएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार फिलिपिन्सको मनिलामा कोरोनाभाइरस लागेका एक जना पुरूषको शनिबार मृत्यु भएको हो । ती पुरूष वुहानबाट फिलिपिन्स फर्किएका थिए ।
फिलिपिन्समा अर्का एक जनालाई पनि यो भाइरस देखिएको छ । भाइरसको संक्रमण रोक्न फिलिपिन्सले चीन, हङकङ र मकाउका नागरिकलाई आफ्नो देशमा भ्रमण गर्न रोक लगाएको छ ।
गत डिसेम्बरमा हुवेई प्रान्तको वुहानबाट फैलिएको कोरोनाभाइरस अहिले संसारका विभिन्न देशमा फैलिएको छ ।
चीनको वुहान सहरमा देखापरेको कोरोना भाइरसले यतिबेला चीनमा महामारीको रूप लिइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हालसम्म ३०४ जनाको ज्यान गइसकेको छ । विश्वका अन्य २२ देशमा यो भाइरसको संक्रमण देखिएका बेला चीन बाहिर फिलिपिन्समा पहिलो पटक संक्रमितको ज्यान गएको हो ।
कमजोर स्वास्थ्य प्रणाली भएका देशमा महामारी फैलिने सक्ने ठानेर विश्व स्वास्थ्य संगठनले गत बिहीबार विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
























