देश/प्रदेश

हिमाली क्षेत्रका पशुचौपाय वन्यजन्तुबाटै असुरक्षित

Banner

सन्तोष पुर्कुटी 

 ताप्लेजुङ,   माघ १६  –
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित याम्फुदिनका ममलाल राईको एउटा याक तीन हप्ताअघि भालुको सिकार बन्यो । चिण्डे चोक खर्कमा चरनकै क्रममा उक्त याक भालुको सिकार बनेको हो ।

याम्फुदिनकै बारुले भन्ने खर्कमा श्रीकुमार गुरुङको समेत दुई वटा गाई भालुकै आक्रमणमा परी मरे । यता मिक्वाखोला गाउँपालिकास्थित पापुङका स्थानीय पानदोर्ची शेर्पाका अनुसार सिम्बोकमा पनि दुई वटा चौँरी वन्यजन्तुको आक्रमणमा मरे । यी दुई क्षेत्रमा मात्रै नभई याक, चौँरी पाल्ने गरिएका कालिखोला, घुन्सा, ओलाङचुङ्गोला, तोक्पेगोलालगायतका ठाउँमा समेत यस्तै घटना बारम्बार भइरहन्छन् ।

हिमाली क्षेत्रमा पालिने पशु चौपाय सधैँजसो वन्यजन्तुको सिकार बन्ने गरेपछि पशुपालक मारमा पर्दै आएका छन् । बर्सेनि प्रत्येक गोठका एउटा पशुचौपाया वन्यजन्तुको सिकार बन्ने गरेको स्थानीयले बताए । “कहिले दिउँसो चरनका समयमा त कहिले राति बसेकै ठाउँमा आएर जङ्गली जनावर भालु, ब्वाँसो, हिउँ चितुवालगायतका वन्यजन्तुले आक्रमण गर्छन्, बर्सेनि एक÷दुई वटा पशु चौपाया जङ्गली जनावरकै सिकार हुने हुँदा समस्या हुने गरेको छ”, याम्फुदिनका पशुपालक खड्क गुरुङले भने । जङ्गली जनावर मार्न पनि नहुने र यिनीबाट जोगाउने उपाय पनि नहुने हुँदा घाटा बेहोर्न बाध्य हुनुपर्ने उनको भनाइ छ । गुरुङका अनुसार रुँघेर पनि साध्य हुँदैन, कुनबेला आएर मार्छ पत्तो पनि हुन्न ।

बर्खाको समयमा गोठ उच्च क्षेत्रमा हुने हुँदा सोहीबेला याक, चौँरी हिउँ चितुवाको आक्रमणमा पर्ने गर्छन् भने हिउँदका बेला तल्लो क्षेत्रमा पाइने भालु र ब्वाँसो अर्थात जङ्गली कुकुरको आक्रमणमा पर्छन् । हिउँदभर गोठ तल्लो क्षेत्रमा राखिन्छ । मिक्वाखोला गाउँपालिका–५ पापुङका पशुपालक मिलनदोर्जी शेर्पाका अनुसार ब्वाँसोले एउटा मात्रै चौँरी अर्थात याक मार्न पायो भने गोठका अन्य याक, चौँरीलाई समेत पालैपालो आक्रमण गर्छ । एउटै गोठका ३०–३५ वटासम्म पशुचौपाय मारेको उदारणसमेत रहेको उनको भनाइ छ ।

राम्रोसित हुर्किएको एउटा चौँरीलाई मात्रै ५० देखि ८० हजार रुपैयाँसम्म पर्छ भने याकलाई रु ८० हजारदेखि एक लाखसम्म पर्छ । बर्सेनि वन्यजन्तुको आक्रमणले आफूहरु मारमा पर्दै आएको भन्दै यहाँका पशुपालकले सरकारले हिमाली भेगका पशुपालकका लागि छुट्टै प्रकारको अनुदान तथा प्रोत्साहनको योजना बनाउनुपर्नेमा जोड दिएका छन् ।

यस्तै पशु बीमाको प्रक्रिया र दाबी भुक्तानीलाई समेत सहज बनाउनुपर्ने उनीहरुको भनाइ छ । बीमा गराउने प्रक्रिया र बीमापछि पाइने सेवा लिन झन्झट हुने गरेकाले पशुपालक बीमाको पहुँचमा पुग्न नसकेको उनीहरुको गुनासो छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>