चितवन विशेष
सौराहामा माघ २८ देखि फुड फेष्टिबल,भ्यालेन्टाइन डेमा प्रेमपत्र लेखन प्रतियोगिता

निशा श्रेष्ठ
चितवन, माघ १५
देशकै अग्रणी पर्यटकीय स्थल सौराहामा आगामी माघ २८ देखि फागुन ३ गतेसम्म १४ औ सौराहा फुड फेष्टिबल हुने भएको छ ।
क्षेत्रीय रेवान सौराहाको आयोजनामा तथा रेवान महिला समूह , क्षेत्रीय होटल संघ नेपाल चितवन र युनाइटेड हात्ती सञ्चालन संस्था लिमिटेडको सहआयोजनामा फुड (खाना) फेष्टिबल हुन लागेको हो ।
स्थानीय, स्वदेशी तथा विदेशी खाना, स्थानीय कला, संस्कृृति भेषभुषा जगेर्ना गर्दै पर्यटकीय स्थलको प्रवद्र्धन गर्नका लागि फुड फेष्टिबल (खाना महोत्सव)को आयोजना गरिएको क्षेत्रीय रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले आज सौराहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
फेष्टिबलमा ४० वटा खानाका स्टल रहने र पाँच वटा पदर्शनी स्टल रहने अध्यक्ष खतिवडाले बताए ।
सौराहाको सिसुवार मैदानमा आयोजना हुने सो फुड फेष्टिबल विभिन्न जातजातिका तथा संघसंस्थाको झाँकी प्रस्तुत गरिने अध्यक्ष खतिवडाले जानकारी दिए । यस्तै सो फेष्टिबलमा प्रेमपत्र लेखन प्रतियोगिता, वातवरण पदूषण न्यूनीकरणको सडक नाटक, भलिबल प्रतियोगिता, म्युजिकल चेयर प्रतियोगिता, वेटर रेस प्रतियोगितालगायतका प्रतियोगिता हुने उनले बताए ।
यस्तै भ्रमण वर्षलाई प्रवद्र्धन गर्नका लागि कार्यक्रम अवधिभरमा सौराहा आउने पर्यटकलाई विभिन्न छुटको व्यवस्था गरिएको छ । जसमा सौराहा रेवानमा आवद्ध रेष्टुरेन्टमा १५ प्रतिशत छुट , क्षेत्रीय होटलसंघ नेपाल चितवनमा सौरहामा आवद्ध होटलको आवसमा ३० प्रतिशत र अन्य साना पर्यटन व्यवसायसँग सामान खरिद गर्दा १५ प्रतिशत छुट हुने आयोजकले बताएको छ । पाँच दिनसम्म सञ्चालन हुने फूड फेष्टिबलमा अन्य दिनमा निःशुल्क प्रवेश भएता पनि प्रणय दिवस (भ्यालेन्टाइन डे) को दिनमा १०० रुपैयाँ प्रवेशशुल्क लाग्ने कार्यक्रमका संयोजक धुव्र गिरीले जानकारी दिए ।
प्रवेश शुल्कबाट उठेको रकमबाट ७५ प्रतिशत चितवनमा निर्माणधीन गौतम बुद्ध क्रिकेट रंगशालालाई, २० प्रतिशत खेल मैदान व्यवस्थापन र पाँच प्रतिशत प्याराडाइज युवा क्लबलाई सहयोग गर्ने संयोजक गिरी बताए ।
फेष्टिबल अवधिभर ८० देखि एक करोडसम्मको खर्च र दुई करोड ५० लाखसम्म कारोबार हुने अनुमान गरिएको कार्यक्रम संयोजक गिरीले जानकारी दिए । यसका साथै पत्रकार सम्मेलनमा बोल्दै रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सो फेष्टिबलले भ्रमण वर्ष र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । सौराहालगायत नेपालकै प्रमुख पर्यटकीय स्थानमा पर्यटक कम हुने यो समयमा खाना महोत्सवले पर्यटक आगमनमा वृद्धि हुने विश्वास प्रमुख वनले गरे ।
























