चितवन विशेष

रत्ननगर महोत्सव परिसरमै रक्तदान

Banner

चितवन, माघ ८-

रत्ननगर नगरपालिकाको टिकौली चौरमा जारी दशौँ रत्ननगर महोत्सवको बुधबारसम्म करिब चार लाख दर्शकले अवलोकन गरेका छन् ।

रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ गतेदेखि सुरु भएको महोत्सवमा तीन लाख ९० हजार दर्शकले अवलोकन गरेका रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल संयोजक राजाराम रेग्मीले बताए । १३ औं दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकको उपस्थिति उत्साहजनक पाइएको रेग्मीको भनाइ छ । स्थानीय उत्पादनको प्रवद्र्धन र नेपाल भ्रमण वर्ष–२०२० लाई टेवा पु¥याउने उद्देश्यले यस पटकको रत्ननगर महोत्सवमा सेल्फी डाँडा निर्माण गरिएको थियो । महोत्सवको समापन माघ ९ गते बिहीबार गरिने रेग्मीले जानकारी दिए ।

यसैबीच, चितवनमा बढ्दो रगतको मागलाई मध्यनजर गर्दै महोत्सव स्थलमा नै आज खुला रक्तदान कार्यक्रम गरिएको रेग्मीले बताए । जाडोमा रगतको माग बढे पनि आपूर्ति कम हुने गरेको अवस्थामा आफूहरुले सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रम गरिएको रेग्मीको भनाइ थियो । बुधबार महोत्सव स्थलमा नै आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० भन्दा बढीले रक्तदान गरेका रेग्मीले बताए ।

महोत्सवअन्तर्गत बुधबार विभिन्न सांस्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगिता भएका छन् । रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठकाअनुसार बुधबार चर्चित लोक तथा दोहोरी गायक रामजी खाँणले आफ्ना चर्चित गीतहरु गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । खाँणसहित महोत्सवको सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारको समेत प्रस्तुति रहेको श्रेष्ठले बताए ।
बुधबार झुवानी स्कुलमा अध्ययनरत फरक क्षमताभएका विद्यार्थीबीच दौड प्रतियोगिता गरिएको महोत्सवका खेलकुद संयोजक दिनेश कट्टेलले जानकारी दिए । विभिन्न व्यक्तिहरु लक्षित कार्यक्रम भइरहँदा फरक क्षमता भएका व्यक्तिलाई हौसला प्रदान गर्ने उद्देश्यले महोत्सवमा उनीहरुबीच दौड प्रतियोगिता राखिएको कट्टेलले बताए ।

महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनी गरिएको बताए । महोत्सवमा विभिन्न व्यवसायिक तथा माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसरसहित ५२१ वटा स्टल राखिएको खनालको भनाइ छ । महोत्सवलाई सुरक्षित बनाउनका लागि सीसीटीभी क्यामेराबाट निगरानी गरिनुका साथै पाँच करोड रुपैयाँ बराबरको बीमा समेत गरिएको मूल संयोजक रेग्मीले बताए ।

स्वदेशी तथा विदेशीगरि महोत्सवमा ५२१ वटा स्टल रहेको छ भने महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने बताइएको छ । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तथा अशक्त र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको रेग्मीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>