क्रिकेट
भारतले अष्ट्रेलियालाई ३६ रनले हरायो

काठमाडौं, माघ ३–
घरेलु टोली भारतले दोस्रो एकदिवसीय खेलमा अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको छ । राजकोटमा शुक्रबार भएको खेलमा भारतले दिएको ३४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९.१ ओभरमा ३०४ रनमा अलआउट भयो ।
अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ९८ रन बनाए । उनी शतक बनाउन २ रनले चुक्दै कुलदिप यादवको बलमा बोल्ड आउट भए । यस्तै लुबुकेग्नेले ४६, कप्तान एरोन फिन्चले ३३ रनको योगदान दिए । भारतका लागि मोहम्मद शामीले ३, नवदिप सैनी, रविन्द्र जडेजा र कुलदिप यादवले समान २ विकेट लिए ।
आजको जितसंगै भारतले ३ एकदिवसीय खेलको ऋंखलालाई एक/एकको बराबरीमा पु¥याएको थियो । पहिलो एकदिवसीय खेलमा भारतमाथि अष्ट्रेलियाले १० विकेटको शानदार जित हासिल गरेको थियो ।
यसअघि पहिले व्याटिङ गरेको भारतले ६ विकेटको क्षतिमा ३४० रन बनाएको थियो । भारतका लागि शिखर धवनले ९६, केएल राहुलले ८०, विराट कोहलीले ७८, रोहित शर्माले ४२ रनको योगदान दिएका थिए । अष्ट्रेलियाका लागि एडम जाम्पाले ३ र रिचर्डसनले २ विकेट लिए ।


























