चितवन विशेष
भरतपुरमा वेग्रुपको १९३ औं सरसफाइ श्रृंखला: महानगर प्रमुख दाहाल फोहोर टिप्न सडकमा

चितवन, पुस २१-
भरतपुर महानगरपालिकाले विभिन्न संघसंस्थाको समन्वयमा महानगरपालिका क्षेत्रको सरसफाइलाई प्रभावकारी ढंगले अगाडि बढाएको छ ।
महानगरपालिकाले सरसफाइ अभियन्ता वे ग्रुप, टोल सुधार समिति, जनप्रतिनिधि, महानगरपालिकाका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँगको सहकार्यमा आज राजमार्ग तथा सडकहरूमा सरसफाइ गरिएको हो ।
सोमबार वे ग्रुपको १९३ औंं श्रृंखला भरतपुर महानगरपालिका गेटदेखि चौबिसकोठीसम्मको दुईतर्फी सडक किनारहरू सरसफाइ गरिएको छ । सोही अवसरमा स्थानीयलाई फोहरमैलाको सही व्यवस्थापन र बिसर्जनबारे सचेतना प्रदान गर्नुका साथै सडक पेटी तथा आसपासमा गरिएको फोहोरलाई रोक्न प्रेरित पनि गरिएको छ ।
सडक सरसफाइका क्रममा बाटोमा फालिएका फोहोर टिप्दै भरतपुर महानगर प्रमुख दाहालले नगर क्षेत्रको सरसफाइ गर्नु सम्पूर्ण नगरवासीको सामूहिक दायित्व भएकाले यही जागरण नगरवासीमा जगाउन आफू हरेक हप्ता फोहोर टिप्न सडकमा निस्किएको बताइन् ।
नगर प्रमुख दाहालले आफ्नो घर पसल वरपर, छरछिमेक र सार्वजनिक स्थानको सरसफाई सबैको सामूहिक प्रयासले मात्र पूरा हुने बताइन् । भरतपुर महानगरपालिकाले नगरको सरसफाइलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले फोहोर व्यवस्थापनमा सचेत र सजग हुन आग्रह गरिन् । जथाभावी फोहोर फाल्ने, सडकपेटीमा व्यवसाय गर्ने र शहरको सौन्दर्यता बिगार्ने जो कोहीलाई महानगरपालिकाले कारबाही गर्ने बताउँदै उनले नियम उल्लंघन नगर्न आग्रह गरिन् ।

साप्ताहिक सरसफाई अभियानमा नियमित सहभागी भई सहयोग गर्ने वे ग्रुप, टोलसुधार समितिहरू, जनप्रतिनिधिहरू, महानगरपालिकाका कर्मचारीहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबैलाई धन्यवाद दिँदै उनले यस अभियानमा सधैंं सक्रिय हुन आग्रह गरिन् ।
साप्ताहिक सरसफाइ अभियानलाई निरन्तरता दिने बताउँदै भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत प्रेमराज जोशीले जथाभावी फोहोरमैला गर्नेलाई कारबाही गरिने बताए ।
सरसफाइ अभियन्ता भोजनारायण कँडेलले १९३ औं श्रृंखलामा आइपुग्दा महानगरवासी सरसफाइप्रतिको सचेतना जागरण गरेको बताउँदै यस अभियानमा वे ग्रुपको सधैँ सक्रिय सहभागिता रहने बताए । बिहान ७ बजे भरतपुर महानगर गेटबाट सुरु भएको सरसफाई तथा सचेतना साप्ताहिक कार्यक्रममा ३०० बढी सरसफाइ अभियन्ताहरूको सहभागिता रहेको थियो । भरतपुर महानगरपालिकाले साप्ताहिकरूपमा प्रत्येक हप्ताको सोमबार सरसफाइ अभियन्तासँगको सहकार्यमा सरसफाइ तथा सचेतना कार्यक्रम गर्दै आएको छ ।
























