चितवन विशेष

नारायणी नदी किनारमा महायज्ञ सुरु नहुँदै १५ लाख संकलन

Banner

चितवन, पुस २०-

नेपालमा नै पहिलो पटक चितवनमा हुन लागेको विराट् मासिक ज्ञान महायज्ञमा १५ लाख रुपैयाँ संकलन भइसकेको छ ।

आगामी माघ ११ देखि फागुन ११ गतेसम्म नारायणगढको नारायणी नदी किनारमा हुने महोत्सवका लागि दानवीरहरुले रकम प्रदान गर्न बोलकबोल सुरु गरेका महायज्ञका प्रमुख वाचक बालयोगेश्वर माहाराजश्रीले जानकारी दिए ।

सो ऐतिहासिक १०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् संगीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष विराट मासिक महायज्ञ–२०७६ को तयारी समेत तीव्ररुपमा पारिएको छ । महायज्ञको १०८ कुण्डीय कोटिहोमस्थलमा नौ तले यज्ञ मण्डपको निर्माण भइरहेको महाराजश्रीले जानकारी दिए । सो मण्डप निर्माणका लागि दैनिक ३० जना कामदारहरु खटिएको उनले बताए ।

महायज्ञलाई सफल पार्नका लागि विभिन्न जिल्लामा उपसमिति विस्तार तथा प्रचार–प्रसारको काम भइरहेको महाराजश्रीको भनाइ छ । त्यस्तै १०८ तीर्थस्थलको जल ल्याउनका लागि महायज्ञ समितिका सदस्यहरु तीर्थस्थलको भ्रमणमा गइसकेको महाराजश्रीले बताए । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका मान्छेले यसपटकको धार्मिक यात्राका लागि नारायणी नदी किनारमा आयोजना हुने महायज्ञमा आउने जानकारी गराइरहेका उनको भनाइ छ । एक महिनासम्म सञ्चालन हुने सो महायज्ञमा दैनिक एक हजार भक्तजनलाई गास र आवासको व्यवस्था गरिने समेत महाराजश्रीले बताए ।

यसैबीच, आगामी पुस २६ गते शनिबार महायज्ञस्थल नारायणी नदी किनारमा वृहत् भेलाको आयोजना गरिएको महाराजश्रीले जानकारी दिए । महायज्ञको दुई हजार १०० सदस्यीय मूल समारोह समिति विस्तार तथा १०८ उपसमिति निर्माणका लागि भेलाको आयोजना गरिएको हो । आगामी शनिबार बिहान ११ बजे हुने भेलामा सम्पूर्ण बुद्धिजीवी, स्थानीय भद्रभलाद्मी, सामाजिक अगुवा तथा धर्मानुरागी व्यक्तिलाई सहभागी हुने महाराजश्रीले आग्रह गरेका छन् ।

नेपाल भ्रमण वर्ष–२०२० आगमनसँगै नेपालमै ठूलो धार्मिक महोत्सवको आयोजना गरिएको उल्लेख गर्दै महायज्ञका मूल वाचक बालयोगेश्वर महाराजश्रीले यो महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने बताए । चितवनमा आयुर्वेदिक शिक्षालय स्थापना, क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग तथा जगतपुरको १२ बिघा क्षेत्रफलमा रहेको पशुपति मन्दिरलाई वृहत् धामको रुपमा विकास गर्ने उद्देश्यले धार्मिक महोत्सवको आयोजना गर्न लागिएको हो । उक्त महायज्ञमा १०८ पडिण्तद्वारा १०८ हवन कुण्डमा विशेष जडिबुटीसहित एक करोड २५ लाख मन्त्र जपद्वारा हवन, चार वेद, १८ पुराण, १०८ श्रीमद्भागवत पाठ पारायण, पितृमोक्ष, २१ करोड दीप प्रज्वलन, २१ हजार भन्दा बढी व्यक्तिको तुलादान, १०८ तीर्थस्थलको जलसहित हेलिकप्टरबाट पुष्प वृष्टि, पाँच हजार एक सय कलश पुजन, भूमि पुजन, अन्न पुजन, शालिग्राम परिक्रमा तथा पुजन, दुःख निवारण यज्ञ, कन्या पुजन, जेष्ठ नागरिक पुजन गरिने छ ।

युवा ज्योतिष बाल योगेश्वर महाराजश्रीको मुखार बिन्दबाट कथा वाचन हुने उक्त धन धान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञमा २५ करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य रहेको छ भने महायज्ञ सफल पार्नका लागि करिब पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महायज्ञ अवधिभरमा ३५ हजार दान गर्ने परिवारको एक जना, ६० हजार दान गर्ने दानवीरका दुई जना, ८० हजार दान गर्ने दानवीरका तीन जना र एक लाख दान गर्ने परिवारका चार जना सदस्यलाई हेलिकप्टरबाट मौलाकालिका तथा देवघाट क्षेत्र परिक्रमा गराइनेछ । महोत्सवलाई भव्यरुपमा सफल पार्न देशभरबाट १० लाख भक्तजन आउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>