चितवन विशेष
भ्रमण वर्ष : देवघाट आउने भक्तजनलाई स्वागत

कृष्ण न्यौपाने
दमौली, पुस १६-
तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा आउने भक्तजनलाई नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन आज स्वागत गरिएको छ । देवघाट क्षेत्र विकास समितिले देवघाटधाम भ्रमणका लागि देशका विभिन्न ठाउँबाट आएका भक्तजनलाई स्वागत गरेको हो । क्ष समितिका अध्यक्ष शिवराज पौडेलले करीब ६०/७० भक्तजनलाई स्वागत गरिएको जानकारी दिए । भ्रमण वर्षका अवसरमा सरकारले पर्यटकलाई स्वागत गर्न निर्देशन गरेबमोजिम देवघाट गाउँपालिका, विभिन्न टोल समूहलगायतको उपस्थितिमा भक्तजनलाई स्वागत गरिएको पौडेलले जानकारी दिए ।
धार्मिक, सांस्कृतिक पर्यटनको केन्द्र बन्दै गइरहेको देवघाटमा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट पनि भक्तजन आउने गरेका छन् । देवघाटमा माघे सङ्क्रान्तिका अवसरमा ठूलो मेला लाग्छ । मुक्तिनाथको शिरबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशुलीको सङ्गम देवघाटलाई विश्वका हिन्दूको आस्थाको केन्द्रका रुपमा विकास गर्ने गरी भ्रमण वर्षका अवसरमा पर्यटक लक्षित विभिन्न कार्यक्रम गरिने समितिका अध्यक्ष पौडेलले बताए।
नेपाल आउने पर्यटकमध्ये ४० प्रतिशतलाई देवघाटमा भित्र्याउन सके यस क्षेत्रको विशिष्ट महत्वका बारे संसारभर प्रचारप्रसार हुने पौडेलले बताए । पर्यटकको स्वागतका लागि देवघाटमा विभिन्न जनजातिका सांस्कृतिक कार्यक्रम, गुरुकुल, विद्यापीठ तथा आश्रमका तर्फबाट साहित्यिक कार्यक्रम, त्रिशूली र कालीगण्डकी नदीमा जलविहारलगायत कार्यक्रम सञ्चालन गरिनेसमितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए।
देवघाटमा महाशिवरात्रि, माघे सङ्क्रान्ति जस्ता ठूला पर्वमा पाँच लाखभन्दा बढी आन्तरिक पर्यटक र भक्तजनको आगमन हुन्छ । अब बाह्य पर्यटकलाई देवघाटमा भित्र्याउने तयारी गरिएको उहाँले बताउनुभयो । त्यसका लागि समितिका पदाधिकारीले गत महिना भारतका विभिन्न भागको भ्रमण गरी देवघाट आउन निमन्त्रणा गरिसकेका छन् ।
देवघाटस्थित हरिहर सन्न्यास आश्रमका पीठाधीश एवं नेपाल सन्त समाजका केन्द्रीय
अध्यक्ष ज्ञानानन्द सरस्वतीले देवघाटको महिमा ठूलो छ भन्दै यहाँ करीब ५५० वर्ष पहिले चक्रवर्ती राजा मणिमुकुन्देश्वरले ध्यान गरेको बताए। देवघाटमा रहेका विभिन्न मठमन्दिर र गुफाले यहाँ देवताको बास रहेको पुष्टि हुन्छ भन्दै उनले कालीगण्डकीको तीरमा पाइने शालिग्राम विश्वमा अन्यत्र कहीँ नपाईने बताए ।
देवघाटको चक्रवर्ती मन्दिरमा रहेको ॐ लेखिएको चक्रेश्वर शिला विश्वमै एक मात्र रहेको जिकिर गर्दै उनले त्यसको उचित प्रसारप्रसार हुन सकेमा देवघाटको अन्तरराष्ट्रिय ख्याति बढ्ने बताए । देवघाटको महिमाको चर्चा गर्दा करीब पाँच सय वर्षअघि त्रिशूली र कालीगण्डकीको सङ्गम वेणीमा एक माझीले चक्रैचक्र भएको एक कुर्म ९कछुवा० शालिग्राम शिला फेरा पारे, जुन देवता र दानवद्वारा अमृत प्राप्तिका लागि समुद्रमन्थन गर्दा आधारका रुपमा विष्णुबाट कछुवा रुप धारण गरिएको थियो, त्यही कछुवा आकारको शालिग्राम नै यही शिला भएको र उक्त शिलालाई विष्णुको प्रतीक मानिने विश्वास रहिआएको छ । विष्णुका प्रतीक शङ्ख, चक्र, वनमाला आदि सबै रहेको उक्त शिला गलेश्वर बाबाले मन्दिर बनाई स्थापना गरेका थिए।
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले देवघाटलाई हिन्दूको पवित्रभूमि र आस्थाको प्रतीकका रुपमा विकास गर्न सङ्घीय सरकारसँग हातेमालो गरी काम गरिने बताए । मुग्लिङ–नारायणगढ खण्डको दासढुङ्गाबाट ६ किमी सडक हुँदै सवारी साधनमा र चितवनको नारायणगढ नजीकैको आँपटारीबाट तीन किमी यात्रामा सवारी साधन हुँदै त्रिशूलीको झोलुङ्गे पुल तरेर सजिलैसँग देवघाट पुग्न सकिन्छ । वेणी, चक्रवर्ती मन्दिर, सीता गुफा, वशिष्ठ गुफा, धार्मिक उद्यान, बागीश्वरी क्षेत्र, अघोरी आश्रम, हरिहर मन्दिर, सिद्धेश्वर मन्दिर, बौद्धगुम्बा, राम मन्दिर, गणेशस्थान यहाँका प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हुन् ।
हिमाल हेर्न मानहुँकोट
हिमालको मनोरम दृश्यावलोकनका लागि दमौलीवासीलाई पोखरा वा अन्यत्र धाउनुपर्दैन । तनहुँकोको सदरमुकाम दमौलीबाट नजीकै रहेको मानहुँकोटबाट आँखै अघि पाँच हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ ।
पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको व्यास नगरपालिका–५ स्थित मानहुँकोटबाट हिमालको मनोरम शृङ्खला देखिने भएकाले भ्रमण वर्षमा हिमाल हेर्नका लागि मानहुँकोट उपयुक्त गन्तव्य हुने देखिएको छ । मानहुँकोटबाट धौलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए।
जाडो मौसम भएको र मानहुँकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै मानहुँकोट पुग्ने गरेको वडाध्यक्ष श्रेष्ठले बताए । “दमौली बजारमा दिउँसो १२ बजेसम्म घाम लाग्दैन तर मानहुँकोटमा बिहान ७ बजे नै घाम लागिसक्छ,” उनले भने, “बिहानै हिमाल पनि खुल्ने भएकाले हिमालको दृश्यावलोकनका लागि पर्यटक मानहुँकोट पुग्ने गरेका छन् ।”
वडाध्यक्ष श्रेष्ठका अनुसार भ्रमण वर्षलाई लक्ष्य गरी वडाले ‘हिमाल हेर्न मानहुँकोट जाऔं’ अभियान सञ्चालन गरेको छ । भ्रमण वर्ष सफल पार्नु सबैको दायित्व भएकाले वडाले पनि यस अभियानलाई सफल पार्न धेरैभन्दा धेरै पर्यटक मानहुँकोटमा भित्र्याउने लक्ष्य राखेको श्रेष्ठले बताए ।
मानहुँकोटमा आन्तरिक पर्यटकको चाप बढ्न थालेपछि स्थानीयवासीले प्रत्येक घरमा होटल खोलिसकेका छन् । मानहुँकोट खाजाघरकी सञ्चालिका रेवती आलेले शुक्रबार र शनिबारबाहेक दिनमा मात्रै मानहुँकोटमा दैनिक दुइतीन सय आन्तरिक पर्यटक आउने गरेको जानकारी दिए। उनका अनुसार शुक्रबार, शनिबार र बिदाका दिन मानहुँकोटमा दैनिक पाँचछ सय पर्यटक पुग्ने गरेका छन् ।
मानहुँकोटबाट दमौली बजारलगायत आसपासका क्षेत्र छर्लङ्ग देखिन्छ । जाडो मौसममा न्यानो घाम र बिहान सूर्योदय र बेलुकाको अस्ताउँदो सूर्य नजीकबाट नियाल्न पाउँदा आनन्द लाग्ने व्यास नगरपालिका–३ का विनय शाहले बताए । मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को बाँध निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ ।
मानहुँडाँडा आफैमा एउटा दृश्यावलोकन स्तम्भ हो । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँ प्रष्ट देख्न सकिन्छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ । नगरपालिकाको रु २५ लाख र वडा कार्यालयको रु पाँच लाखको लागतमा रेलिङ निर्माण गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
मानहुँडाँडा पुग्न बाटो कालोपत्रेको काम पनि शुरु भइसकेको छ । सङ्घ सरकारको रु सात करोड बजेटबाट सडक कालोपत्रेका लागि नाला निर्माणको काम अन्तिम चरणमा पुगेको र कालोपत्रेको काम छिट्टै शुरु हुने बताइएको छ । सोही वडाको अलैचेबाट मानहुँकोटसम्म पुग्ने साढे ६ किमी बाटो कालोपत्रेका लागि काठमाडाँैस्थित रानीबारी कन्स्ट्रक्सन प्रालिले जिम्मा पाएको छ । मानहुँसम्म पुग्ने बाटो कालोपत्रे भएपछि पर्यटकको सङ्ख्या अझै वृद्धि हुने अनुमान गरिएको छ । रासस

























