चितवन विशेष
भरतपुरको मृगकुञ्ज टोलमा सरसफाइ

चितवन, पुस १२-
भरतपुर महानगरपालिका–११ बसेनीको मृगकुञ्ज टोलमा आज वृहत सरसफाइ गरिएको छ ।
टोलका अध्यक्ष कुलबहादुर तामाङको अध्यक्षतामा शनिबार बिहान सुरु भएको सरफाइ अभियान विभिन्न क्षेत्रको सरसफाइ गर्दै बोहराचोकमा आएर बिर्सजन भएको हो । सरसफाइ अभियानमा हरेक घरबाट एक जना सहभागी भएका थिए । उनीहरुले टोलको सडकछेउछाउमा फालिएको प्लास्टिक तथा फोहोर टिप्नुका साथै सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम पनि गरेका थिए ।
सरसफाइपछि भएको जनचेतामूलक कार्यक्रममा भरतपुर महानगरपालिका–११ वातावरण समन्वय इकाइका अध्यक्ष नारायणप्रसाद दवाडीले मृकुञ्ज टोलले गरेको सरसफाइ अभियानको प्रशंसा गरे । उनले भने, ‘हामीले आफ्नो घरबाट नै परिवर्तनको संस्कार सिकाउन सरसफाइ अभियानमा जुटेका छौं । भोलिको पुस्तालाई सरसफाइको संस्कृति सिकाउन पनि यो सकारात्मक छ ।’ उनले यस्ता कार्यलाई सदैव अभियानको रुपमा सञ्चालन गर्नुपर्ने विचार राखे ।

कार्यक्रममा मृगकुञ्ज टोल विकास संस्थाका अध्यक्ष कुलबहादुर तामाङले सहभागी सबैलाई विशेष धन्यवाद दिए । उनले भने, ‘महानगरको विभिन्न कार्यक्रममा पुग्दा हाम्रो टोलले गरेको सरसफाइ अभियानको प्रशंसा सुन्दा खुसी लाग्छ । टोलमा जथाभावी फोहोर फाल्नेलाई कारबाही गरेर पनि सरसफाइलाई कायम राख्न टोलले प्रोत्साहन र दण्ड दुबैको व्यवस्था गरेको छ ।’ उनले हरेक महिनाको दोस्रो शनिबार केही क्षण सबैले टोलको सरसफाइलाई दिन पनि सबैसँग अनुरोध गरे । कार्यक्रममा भरतपुर वडा नम्बर ११ का वडा अध्यक्ष बाबुराम अधिकारी, टोलविकास संस्थाका सल्लाहकार ईन्द्रबहादु्र बोेहोरा र कार्यसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

























